
रेम बिक / पोखरा, २६ पुस | पर्यटकिय सिक्लेस गाऊँमा हरेक वर्षझैँ यो वर्ष पनि माघेसंक्रान्ति मेला हुने भएको छ । आयोजक सिक्लेस युवा क्लबले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर क्लबले मेलाको बारेमा जानकारी दिएको हो ।
‘हामीले यो पटक धेरै भन्दा धेरै पर्यटकहरुलाई मेलाको अवसरमा सिक्लेल भित्राउने योजना बनाएका छौँ ।’ पत्रकार सम्मेलनमा बोल्दै मेलाका संयोजक दलबहादुर गुरुङले भने–‘सिक्लेसको बारेमा प्रचारप्रसार गर्नका लागि हामीले वर्षेनी मेलाको आयोजना गर्दै आएका हौँ ।’ बाह्य पर्यटकहरुका लागि क्लबले मेला अवधीभर सिक्लेस जाने यातायातको सुविधासंगै बस्नका लागि होटल र होमस्टेको समेत व्यवस्था गरिसकेको जानकारी दिएको छ ।
स्थानिय सँस्कृतिको संरक्षणसँगै सामाजिक भौतिक संरचनाको निर्माणमा सहयोग जुटाउन क्लबले माघे सँक्रान्ति मेलाको आयोजना गर्दै आएको छ । त्यस्तै क्लबले पर्यटकिय सिक्लेसको प्रचारप्रसार र खेलकुदको विकासको लागि पनि मेलाको आयोजना गर्ने गरेको अध्यक्ष देबीजंग गुरुङले जानकारी दिए ।
मेला अवधीमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसँगै ठेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता विशेष आकर्षणको रुपमा रहनेछन् । त्यस्तै यो पटक पोखरा वाटर कलर सोसाईटीसँगको सहकार्यमा क्लबले ‘क्यानभासमा चित्रकला उत्सव’ गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
मेलामा स्थानिय हस्तकला सामाग्रीहरुको प्रदर्शनी समेत हुनेछ । सिक्लेस राडिपाखी, थैलो, भाङ्ग्रा, बख्खु, मान्द्रो, भकारी, डोको, डालो, नाम्लो जस्ता हस्तकला सामाग्रीको उत्पादनका कारण पनि चर्चित मानिन्छ । विशेषगरि गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिक्लेस पुग्नका लागि पोखराबाट हिँडेर एक दिन पुरा लाग्छ भने यातायातमार्फत जाँदा चार घण्टा लाग्छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाईमा रहेको सिक्लेसमा ४ सय भन्दा बढि घर एउटै गाऊँमा छन् ।

