
बिग न्युज पोखरा, २६ पुस / आन्तरिक राजश्व कार्यालय पोखराले पश्चिमाञ्चल क्षेत्रबाट कर बुझाउने मध्ये उत्कृष्ट चयन गरी शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । पोखराको मेट्रो डेभलपमेन्ट बैंक, साङ्ग्रिला भिलेज रिसोर्ट र फेवासिटी हस्पिटल एण्ड रिसर्च सेन्टर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।
पश्चिमाञ्चलका विभिन्न जिल्लामा रहेका करदातालाई जिल्लागत रुपमा सम्मान पनि गरियो । आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत सूर्य सुर्खालीका अनुसार नियमित कर बुझाउने, समयमा नै विवरण बुझाउने, नक्कली विजक छानविनमा नपरेका, कर बेरुजु कक्यौता नराख्ने, मुद्धामा नगएका र अनुसन्धानमा नपरेका मध्येबाट उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
सम्मान अघि, नेपाल उद्योग वाणिज्य महासंघ र पोखरा उद्योग वाणिज्य संघले उच्चस्तरीय कर पुनरावलोकन आयोगसँग अन्र्तक्रिया कार्यक्रम पनि आयोजना ग¥यो । सहभागीहरुले कर नीतिलाई व्यवसायीमैत्री बनाउन सुधार गर्नुपर्नेमा जोड दिए । यहाँका उद्योगी व्यवसायीले राज्यको करनीति नै व्यवसायमैत्री नहुँदा धेरै झण्झट बेहोर्नुपरेको भन्दैे समयसापेक्ष रुपमा कर प्रणाली सुधार हुनुपर्ने बताएका हुन् । उनीहरुले करदको दर बढाउनुभन्दा दायरा बढाउनतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराए ।
आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्क, भन्सार, शिक्षा सेवा र स्वास्थ्य सेवालगायतका करको विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत पक्षका बारेमा गरिनुपर्ने सुधारका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रुप खड्काले व्यवसायीसँग सुझाव संकलन गरी आयोगले सरकारलाई छिट्टै प्रतिवेदन बुझाउने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खड्काले कर संकलनबाट नै देशको विकास हुने बताउँदै निजी क्षेत्रलगायत सरोकारवाला निकायसँग सुझाव संकलन गरी प्रभावकारी र दीगो कर नीति ल्याउन आयोग लागिपर्ने बताए ।
आन्तरिक राजश्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले नेपाल सहभागितामूलक शासन व्यवस्थामा रहेकाले व्यवसायी तथा करप्रणालीमा भएका समस्यालाई सबै मिलेर सुल्झाउनुपर्ने बताए । उनले व्यवसायीले दिएको सुझाव, विद्यमान अवस्थाको समिक्षा तथा विश्लेषण गरी कर नीति आउने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कर प्रणालीलाई व्यवस्थित गरिनुपर्ने बताउँदै विद्यमान कर प्रणालीलाई सुधार गर्नका लागि निजी क्षेत्रसँग सम्वाद तथा छलफल गरिनु सकारात्मक काम भएको बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले करमैत्री वातावरणमा जोड दिँदै कर तिर्ने र कर संकलन गर्ने निकायबीच अविश्वासको वातावरण हुन नहुने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले करलाई देशको विकास निर्माणमा सही रुपमा प्रयोग गरिनुपर्ने सुझाव दिँदै प्रचलनमा रहेका राजश्व सम्बन्धी कानून समयसापेक्ष रुपमा परिवर्तन हुनुपर्ने बताए । थापाले राजश्व नीति लगानीमैत्री हुनपर्नेमा जोड दिँदै कर उठेको क्षेत्रमै प्रयोग गर्नुपर्ने सुझाव दिए । मूल्य अभिबृद्धि करको थ्रेस होल्डलाई पनि बृद्धि गरिनुपर्नेमा उनको जोड छ ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जीबहादुर कोइरालाले घरभाडा ऐन बनाएर घरभेटीसँग कर लिइनुपर्ने, व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने कामको अन्त्य गरिनुपर्ने, हरियो नम्बर प्लेटका पर्यटक सवारीलाई करको दायरामा ल्याईएपछि कालो नम्बर प्लेट सवारीलाई पनि ल्याउनुपर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले गैरकानुनी रुपमा सञ्चालनमा आएका व्यवसायलाई निरुत्साहित गरी राम्रोसँग व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नबराज सुवेदीले करदाता शिक्षालाई प्रभावकारी बनाइनुपर्ने भनाइ राखे । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त श्रेष्ठले देशमा उद्योग कलकारखाना किन बन्द भएका छन् राज्यले खोजी गर्नुपर्ने बताए । आयोगका सदस्य माधव ढकालले कर प्रणालीलाई करदातामैत्री, सरल, सहज र लगानीमैत्री बनाउनका लागि सुझाव संकलन अभियान अगाडि बढाएको जानकारी दिए ।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत दोविन्द्रप्रसाद दाहाल, सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम,पोखरा हार्डवेयर एशोसिएसनका अध्यक्ष प्रेमप्रसाद पौडेल, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगाना, कस्मेटिक व्यवसायी संघ पोखराका अध्यक्ष विष्णुप्रसाद बास्तोला, लेखा व्यवसायी अमरप्रसाद बराल, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम आचार्य, नेपाल अडिटर एशोसिएसन कास्कीका सचिव रुद्रनाथ पौडेल, कपडा व्यवसायी प्रेम भूजेल, पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देललगायतले आफ्ना सुझाव राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रवीन्द्रबहादुर प्रजुले गरेका थिए भने द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

