पदमा ध्यान भए अडान किन राख्थें ?: ओली, ‘जाडोमा मेरो पुत्ला जलाउनुभयो, ठीकै गर्नुभयो’

Share:

काठमाडौं, पुस २६ – स्पष्ट वक्ताकोरुपमा चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिको केन्द्रमा छन् । अस्वस्थ्य शरीर, संक्रमणका कारण सेतो पट्टीले बाँधेको हात लिएर उनी संविधान निर्माणका लागि विभिन्न छलफल र बैठकमा पुगेका छन् । तराईका पाँच जिल्लालाई मधेसमा राख्नैपर्ने धारणा राखेपछि त्यसविरुद्ध सीधा प्रतिवाद गरेपछि ओलीको व्यक्तित्व र विचारका पक्ष/विपक्षमा बहस भइरहेको छ । उनले माफी माग्नुपर्ने भन्दै मधेसी मोर्चा दलीय बैठकमा गएको छैन । यहि फुर्सदमा एमाले प्रचार विभागले शनिबार पार्टी मुख्यालय बल्खुमा गरेको पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीसँग लामै साक्षात्कार गर्न समय निकाले । प्रस्तुत छ ओलीसँग सञ्चारकर्मीले गरेको साक्षात्कारको सम्पादित अंशः

एमालेले आफ्नो एजेन्डा छाडेर कांग्रेसको एजेन्डा अंगाल्यो भन्ने गरिएको छ नि ?

देश जहाँसुकै परोस्, आफ्ना कुरा माथि परुन् भन्ने तरिका ठीक होइन । आफ्ना कुरा जहाँसुकै परुन् देश माथि पर्नुपर्छ । देशको दीर्घकालीन हित बढि सोच्नुपर्छ । कुन एजेन्डा कसका हुन् भन्नेमा म जान चाहन्न । हामी संक्रमणकाल टुंग्याउन संविधान निर्माण गर्दैछौं । जनताका अधिकार संस्थागत गर्न । र देशलाई अगाडि बढाउन ठूलो दायरा बनाएर अगाडि जाँदैछौं भने देशलाई गम्भीररुपमा प्रतिकुल असर पार्दैन भने हामी लचिला भनेको हाम्रा भनेअनुसार नै हुनुपर्छ भनेको होइन । अरुका पनि राम्रा कुरा सुन्छौं, अनुचित भए पनि देशलाई दुरगामी असर पार्नेछैनन्, जनताको बीचमा घृणा फिजाउने छैनन् भने राष्ट्रिय एकता, लोकतन्त्रमा नोक्सान पार्नेछैन भने हामी धेरै अररो हुँदैनौं । ९ बुँदे प्रस्ताव कांग्रेस, एमालेसहित साना दलको प्रस्ताव हो, यसमा कसका मुद्दा कति परे कसका विचार स्वीकारिए भन्नेमा म बहस विवाद र दन्तबझान गर्नुपर्ने ठान्दिनँ ।

अर्को कुरा संविधान बन्न नदिन कांग्रेस-एमालेको एकता टुटाउनुपर्छ, आशंका पैदा गर्नुपर्छ, भाँजो हाल्नुपर्छ भन्ने मनसाय पनि क्रियाशील छन् । कांग्रेसलाई भन्यो, एमालेले लतार्‍यो नि, एमालेका पछाडि लाग्ने ? एमालेलाई फेरि भन्यो, कांग्रेसले लतार्‍यो, एमालेको आफ्नो पोलिटिक्स छैन भन्ने । धेरै नोक्सान नहुने कुरामा कम्प्रोमाइज गरेर जानुपर्छ, सहमति गरेर जानुपर्छ । त्यो कांग्रेस र एमालेकोमात्र होइन, हस्ताक्षर गर्ने अरु सबैको धारणा हो ।

kp1

पुस २९ सम्म सहमति भएन भने प्रक्रियामा जान सम्भव छ ?

प्रक्रिया भन्नेवित्तिकै तर्सिने, प्रक्रिया भन्नेवित्तिकै सातो जाने, बहुमत, दुई तिहाई भन्नेवित्तिकै सातो जाने किन ? लोकतन्त्रमा संविधान, नियम, नियमावली अनुसार चल्छ । लोकतन्त्र भनेको हुकुमी शासन होइन । लोकतन्त्र स्वेच्छाचारी व्यवस्था होइन । एउटा चर्चा चल्छ, फलानो पक्षलाई स्पेस दिनुपर्‍यो नि ? दुई कार्यकाल राष्ट्रपति जितेका श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले चुनाव हारे । अब त्यहाँ स्पेस कसरी दिन्छन् ? भारतमा लामो समय सत्तामा भएको कंग्रेस आईले हार्‍यो, बीजेपीले जित्यो । त्यहाँ कंग्रेस आईलाई के स्पेस दिने ? संविधान, कानुन बाहिर गएर स्पेसको खोजी कहाँ गएर पाउने ? परिणाम, जनताको अभिमतलाई स्वीकार्ने, संविधान कानुनबमोजिम चल्ने प्रणालीलाई लोकतन्त्र भनिन्छ । हामीले संविधान ६०१ ले सर्वसम्मतिले बनाउने भए पनि प्रक्रियाबाटै बनाउने हो । मैले जे भन्यो त्यहि सहमति हो भन्ने प्रवृत्ति हुकुमी हो, प्रजातान्त्रिक होइन । यो प्रणाली अहिले होइन, चुनाव नहुँदै तयार भएको हो । हामीले अपमान सहेर, गाली खाएर, कहिले महेन्द्रीय भनेको छ, यथास्थितिवादी भनेको छ, कहिले पुरानै संविधान भनेको छ । त्यसो गर्दा पनि सहमतिका लागि लागेका छौँ । हाम्रो प्रयास अहिले पनि जारी छ । संविधान जारी गर्न ४०१ देखि ६०१ सम्म हुनुपर्छ । यदि त्यो संवैधानिक होइन भने संविधानसभाको चुनाव किन गरियो ? हामी कुनै सेन्टिमेन्टल कुरा गरेका छैनौँ । जहिले संविधान बने पनि प्रक्रियामै जानुपर्छ । जनताले संख्या नै अनुमोदन गरेर पठाएको हुन्छ । पहिलो संविधानसभामा एमाओवादी संख्याकै आधारमा ठूलो भएको हो । सहमति भए पनि प्रक्रियामै जानुपर्छ । २-४ जनाले मानेन भने पनि प्रक्रियामै जानुपर्छ । के फेरि संविधानसभा असफल बनाउने ? २९ गते ११ बजे संवाद समितिबाट जे पठाउन सकिन्छ, त्यो पठाउने, सके सहमति पठाउने नभए प्रक्रिया वा अरु केही पठाउने र सभाले निणर्ायार्थ प्रस्तुत गर्ने भन्ने छ । दुई तिहाई नपुर्‍याई कसैले संविधान जारी भयो भन्यो भने त्यो चाँही बलमिच्याईं भयो । विधि प्रक्रिया पुर्‍याएर संविधान जारी गर्दा बलमिच्याईं भयो ?

एमाले विवादित कुन कुन विषयमा लचिलो हुन तयार छ ?

संविधान निर्माण र जारी गर्ने कुरा आलुप्याज किनेजस्तो होइन । ५० रुपैयाँमा एक किलो देऊ न भन्यो, हैन ६० भन्छ । उसो भए ५५ मा मिलाउँन भनेजस्तो होइन । देशको हितमा जे छ जान सकिन्छ, देशको अहितमा जे छ जान सकिँदैन । एउटा भाषा छ ‘गिभ एन्ड टेक’, ‘विन-विन’ । देशको हितमा के को गिभ एन्ड टेक के को विन विन ? देशलाई दुरगामी असर नपर्ने, राष्ट्रिय एकता नखल्बलिने, भौगोलिक अखण्डतामा असर पर्दैन भने सहमति गर्न सकिन्छ । संविधान जनताका लागि चाहिने होइन । जहाँका जनताले कुनै माग गरेका छैनन्, अन्तैकाले आएर भन्ने । न्यूरोडमा सुगा राखिएको हुन्छ, त्यसदेखि अली पर एउटा खाम हुन्छ । कोही ग्रहदशा हेराएन गए, सुगाले पर रहेको खाम ल्याउँछ, अनि तपाईंको ग्रहदशा यस्तो रहेछ भनेर खाम पढिदिन्छ । संविधान भनेको सुगाले तान्ने खाम हो ? देशलाई दुर्घटनामा पर्नेगरी कुनै पनि सम्झौता हामी गर्दैनौं । हामी लचिलो छौँ तर देशलाई दुरगामी असर पार्ने, जनताको एकता खल्बल्याउने, साम्रादायिक द्वेष र घृणाहरु फैल्याउने खालका कुराहरुबाहेक राष्ट्रिय एकता, देशको सार्वभौमिकता, एकता, अखण्डता, नेपाली जनताको एकतालाई कमजोर पार्नेबाहेक अरु कुरामा लचिलो छौँ । यति सिट कि यति सिटमा लचिलो बन्न सकिन्छ ।

बालुवाटारमा मधेसी मोर्चासँगको विवादपछि संवादहीनताको अवस्था छ । उनीहरुलाई सहमतिमा ल्याउन तपाईंको प्रयत्न के हुन्छ ?

कुरा गर्दागर्दै, अकारण, किन उहाँहरु उफ्रनुभयो, किन बाहिर निस्कनुभयो ? उहाँहरुले मेरो त अपमान नै गर्नुभयो नि । बाहिर निस्किए तथानाम बोल्नुभयो, अपमान नै गनुर्ृभयो । पुत्ला जलाउनुभयो । त्यसबारे त मैले भनेको छु, जाडो मौसममै जलाउनुभयो, गर्मीमा गाह्रो हुन्छ । अहिले आगो ताप्न पनि हुन्छ । कुरा गर्दागर्दै जो सन्किएर हिँड्छ, उसले माफी माग्नुपर्ने हो कि मैले ? सत्तापक्षीय पार्टी भन्दैमा जसले जे माग्यो त्यहि दिने ? मैले भन्ने गरेको छु, हात्ती किन्देऊ भन्दा हात्ती किन्दिने, झोला किन्देऊ भन्दा झोला किन्दिने । तर, हात्ती झोलामा राखिदेउ भन्यो भने समस्या पर्छ । एमालेले वा मैले माफी माग्नुपर्ने कुने शब्द प्रयोग भएको छैन । उहाँहरुको एकजना नेताले आजमात्रै टेलिभिजनमा बोलेको सुनेँ, अत्यन्त अपमानजनक ढंगले भने । केपी ओली बिरामी छन्, के बोल्ने के नबोल्ने होसमै छैनन् भनेको भन्दैहुनुहुन्थ्यो । के भनेको त्यो ? कति जिम्मेवार कुरा हो ? अनि एमालेसँग वार्तामै नबस्ने भन्ने ? हामी आग्रह गर्दछौं बस्नुस् । कुरा गरौँ । भावनामा बग्नु जरुरी छैन । बात बातमा निहुँ खोज्नु जरुरी छैन । यो चिसो सिजनमा तातो दिमाग लिएर वार्तामा जाने तरिकै भएन नि । हप्काएर, धम्क्याएर, तर्साएर राम्रो भएन । तर्क र तथ्यामा आउनुपर्‍यो । उहाँहरुले मेरो अपमान गरे पनि मैले सर्त राखेको छैन । माफी माग्नुपर्ने उहाँहरुले हो, त्यो उहाँहरुको कुरा हो ।

सहमति भएन भने होहल्लाका बीच पनि संविधान जारी हुन्छ ?

सहमतिबाट संविधान बनाउन संविधानसभा बनाइएको हो । होहल्ला गर्ने, कुस्ती खेल्ने, सिठ्ठी बजाउने संस्था होइन । कहिले रगतको खोलो बगाउँछु भनेको छ कहिले रक्तपात गराउँछु भनेको छ । त्यहि भएर मैले भनेको छु अली हल्का बनाउँ, रक्तपात गर्छु भन्ने ठाउँमा ब्लड डोनेसन गराउँछौँ भनौँ । आफ्नै बगाउँछन् भन्ने त भएन । त्यहाँ खसीबोका काट्ने त भएन । कसरलाई मारेर रगत बगाउने ? संविधान बनाउने कि रक्तपात गर्ने ? त्यसो गनु हुँदैन । तर्क राखौँ । प्रक्रियामा जाउँ । ६०१ मा १०-२० जनाले म होहल्ला नै गर्छु संविधान जारी हुन दिन्नँ भन्यो भने के गर्ने ? कि त तिनको मुखमा लड्डु हालिदिनुपर्‍यो । लड्डु खाँदै गर्छ संविधान पास हुँदैगर्छ । होहल्लाकाबीच संविधान निर्माण एमाले कल्पनै गर्दैन ।

माघ ८ गते संविधान आए पनि नआए पनि सरकारको नेतृत्व के हुन्छ ?

हामीले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुअघि ७ बुँदे सहमति गरेका थियौँ । कांग्रेसको नेतृत्वमा सरकार छ । हाम्रो बीचमा सरकारका विषयमा छलफल छैन । कांग्रेसभित्र केही भए हामीलाई भनेको छैन ।

मार्सल लगाएर संविधान जारी गर्ने हल्ला छ नि ?

गोयबल्स शैलिमा प्रचार भएको छ । संविधानसभामा ३०-३५ जना दरबन्दी खाली थियो । कुनै मिडियाले गलत सूचनाका आधारमा लेख्यो । मार्सल लगाएर संविधान जारी हुने । दुई अढाई सय वेल ट्रेन्ड कमान्डोहरु थप्ने, कहाँबा डोरी तान्ने, कहाँबाट कसलाई छेक्ने भनेर लेख्यो । मार्सल टन्नै राखे के हुन्छ म मेरो ठाउँबाट कुरा राख्छु, त्यहाँ लडाईं खेल्न जाने होइन । मार्सल देखि किन डराउने ? मार्सल त कुटाकुट गर्न आउने होइन । जहाँ नेकपा एमाले खडा छ त्यहाँ मार्सल चाहिन्छ ? हामी सबै  साथीहरुलाई ठण्डा पारिहाल्छौँ नि ? किन मार्सल चाहिन्छ । ज्ञानेन्द्रले टेलिफोन बन्द गरेर कर्‍यापझ्याप बनाएजस्तो होइन । संविधानसभामा त्यस्तो हुँदैन ।

माघ ८ मा संविधान बनाउँदा कार्यतालिका र नियमावली मिचिन्छ नि ?

जनतालाई चाहिएको कार्यतालिका, नियमावली होइन, संविधान हो । तसर्थ, संविधान जारी गर्न प्रयाप्त समय अझै पनि छ । त्यसकारण जारी गर्ने हो भने जारी गर्न सकिन्छ । नगर्ने हो भने बेग्लै कुरा हो । गर्न नदिएपछि पहिले पनि चार वर्षमा भएन । माघ ८ मा संविधान आएन भने जनतामा अविश्वास र निरास बढ्छ । निरास जनता देशका लागि खतरा हो । अप्ठ्यारो बेला कसैले पनि प्रयोग गर्न सक्दैन ।

एमालेलाई सरकार बनाउन हतारो छैन भनेर आफ्नो बक्तव्यमा लेख्नुभएको छ । व्यक्तिगतरुपमा केपी ओलीलाई प्रधानमन्त्री बन्न कति हतारो छ ?

म त जेलमा पर्दा पनि छुट्न हतारो नगरी बसेको मान्छे । जेल परेपछि के गरुँ, कसो गरुँ कसरी छुटुँ भन्ने हतारो हुन्छ नि ? म हतारो नगरी बसेको मान्छे । मेरो हतारो गर्ने बानी छैन । बरु कहिलेकाँही ढिलो भयो भनेर आरोप लगाउँछन् । एमालेको ध्यान र त्यसको अध्यक्षका हिसावले मेरो ध्यान कुनै पदमा, कुनै लाभमा केहीमा होइन । धेरै संघर्ष र धेरैको बलिदानीबाट देश यहाँ आइपुगेको छ । हामी ००७ साल, ०४६ साल दोहोरिन दिँदैनौँ, ०६९ सालजस्तो संविधानसभा असफल बनाउन दिँदैनौं, यस संविधानसभाबाट संविधान बनाउन चाहन्छौँ । पदमै ध्यान हुन्थ्यो भने अरु कुरामा सायद दृढ अडान राख्नुपर्ने पनि हुँदैनथ्यो कि । पदमा ध्यान दिँदा अरु छाडिदिऊँ भन्ने हुन्थ्यो कि । एमालेको ध्यान पदमा होइन, एमालेको ध्यान संविधानमा छ, लोकतन्त्रमा छ, राष्ट्रिय एकता, भौगोलिक अखण्डतामा छ, मुलुकको दीर्घकालीन हितमा छ । एकजना पार्टीका प्रवक्ताले भन्नुभएछ, केपी ओलीलाई प्रधानमन्त्री बन्ने हतारो छ । पोहोर घोषणापत्रमा केपी ओलीले लेख्न लगाएको थियो ? एक वर्षभित्र संविधान बनाउँछु भन्ने । नियमावली, कार्यतालिकामा केपी ओलीले आदेश दिएर बनाएको हो ? बुझाइ यति हदसम्मको भएपछि संविधान बनाउन उहाँहरुको दृष्टिकोण प्रयास के होला ? सुशीलजी १०-२० वर्ष प्रधानमन्त्री भएपछि पनि त्यसपछि अर्को त हुने नै हो । को प्रधानमन्त्री हुने, को प्रधानमन्त्री नहुने भन्ने हल्लाका पछाडि के छ ? हामीले प्रधानमन्त्री भनेका छैनौं, संविधान निर्माण भनेका छौं, यस्तो ज्योतिषशास्त्र राजनीतिमा उपयुक्त हुँदैन ।

तस्बिरः भाश्वर ओझा/ईकान्तिपुर

कमेन्ट गर्नुहोस्
Share: