
काठमाडौँ । सरकारले आन्तरिक उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान र लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
यस्तै लामो दूरीको सवारीमा व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने अनुमति दिइएको बताए । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने छ । संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने छ ।
साथै मास्क, भाइजर, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री पनि अनिवार्य राखिनु पर्र्ने लगायत स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने छ ।
अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन भने कात्र्तिक ३० सम्म बन्द नै गर्ने निर्णय भएको छ । यद्यपी दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपति नगर नाका आवश्यकता अनुसार दुबै देशको सहमतिमा खोल्न सकिने निर्णय भएको छ ।
अन्य १० नाकाबाट भने प्रवेश दिइएको छ । चीन तर्फको रसुवागढी नाकाबाट पनि समस्यामा परेकाहरुलाई आउन दिने निर्णय सरकारले गरेको छ ।
शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने उनले बताए । सैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार लगायतमा पनि तत्काल नखुल्ने भएका हुन् ।
