
काठमाडौँ । आज विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा यस वर्ष विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ। प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ।
विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ। यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो।
नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ।
मुटु कसरी स्वस्थ राख्ने?
मुटुलाई स्वस्थ राख्न सबैभन्दा सहज उपाय भनेको शारीरिक रूपमा सक्रिय भएर आफ्नो दैनिकी परिवर्तन गर्नु हो।
विज्ञहरुको अनुसार मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ। साथै स्वस्थ खानपान ध्यान दिनुपर्छ ।
चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो। युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो। तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ। कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ। लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ।
जाडोमा मुटुका समस्या बढी हुन्छ। चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ।धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ। कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ। यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ।
त्यसैले धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने गर्नु पर्छ ।
यस्तै मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ। दैनिक रुपमा हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ। लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ।
साथै उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।
