पाँचौ पोखरा महोत्सव सुरु, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने प्रहरी महानिरीक्षक अर्यालको भनाई

Share:

पोखरा, ३० पुस /पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजना भएको ‘पाँचौ पोखरा महोत्सव’ बुधबारदेखि शुरु भएको छ । यूनाइटेड क्बलद्वारा आयोजित महोत्सवको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्नुभयो । अर्यालले मेला तथा महोत्सवले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गराउनु रहेको बताउँदै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्ने क्रममा कोही संग पनि सम्झौता नगर्ने समेत उनको भनाइ रहेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका जुद्ध गुरुङले संविधानमा चिडियाखाना सम्बन्धी प्रावधानलाई स्पष्ट पारिनुपर्ने बताउनुभयो । पर्यटनविद् झलक थापाले पोखरामा चिडियाखाना आवश्यक रहेको बताउँदै चिडियाखाना निर्माण गर्ने उद्देश्यले क्लबले महोत्सव आयोजना गर्नु सकारात्मक भएको बताउनुभयो ।

एबिसी टेलिभिजनको प्रबन्ध निर्देशक शुभ शंकर कंडेलले युनाइटेड क्लव पोखराले पोखरामा चिडियाखाना निर्माण गर्ने उद्देश्य साथ अगाडी वढेको र यसले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने वताउनुभयो । पोखरा पर्यटकिय हिसावले आफ्नो छुट्टै पहिचान निर्माण गरिसकेको शहर भएतापनि हाल सम्म चिडियाखानामा कोही कसैले पहलकदमी नथालेको र युनाइटेड क्लवले यसलाई अगाडी वढाउदै गर्दा राज्यले समेत ध्यान दिनुपर्नेमा उहांको जोड रहेको थियो । क्लवका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमरसिंह नमुना उच्च माविका ब्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापा लगाययतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

पोखराको अमरसिंह चौरमा आयोजना भएको महोत्सव माघ ८ गतेसम्म जारी रहनेछ । महोत्सवबाट भएको आम्दानी विगतका वर्षहरुमा जस्तै सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशत रकम छुट्याइने भएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्टले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।

यसैविच महोत्सवको अवसरमा आयाजित ¥याली तथा झांकीमा बांझापाटन तमु समाज प्रथम, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा पार्दी दोश्रो, दैविक शक्ति केन्द्र तृतिय र नेवाः खल सुन्धारा तनहुले शान्तवना स्थान हासिल गरेको छ । ३८ टीमको सहभागीता रहेको ¥याली तथा झांकीमा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्ने समुहले क्रमश, १० हजार, ७ हजार ५ हजार र २५ सय नगद हात पारेको महोत्सव प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा भोलीको आकर्षणमा लाइभ ब्याण्डमा रविन एण्ड न्यु रेभुलेसन, हास्य ब्यङग्यमा मनोज गजुरेल, लोक दोहोरीतर्फ रमिला न्यौपाने, पुरुषोत्तम न्यौपाने, रामजी पौडेल लगायतका स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: