आवाजको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

Share:

पोखरा । पोखरेली युवाहरूको संस्था आवाजले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो ।

कोरोना भाइरस कोभिड–१९ ले आक्रान्त पारिरहेको यस विषम परिस्थितिमा रगत अभावको समस्यालाई न्युनीकरण गर्ने हेतुले थोपाथोपामा आवाज, रक्तदान जीवनदान ,जीवन दान महादान भन्ने नारालाई आत्मासात गर्दै भौतिक दूरी कायम गर्दै र सम्पूर्ण सुरक्षा मापदण्ड अबलम्बन गर्दै वडा नम्बर १४ वडा कार्यालय को प्राङ्गणमा सञ्चालित रक्तदान कार्यक्रममा ६ महिला र १२ पुरुष गरी १८ जना स्वयंसेवी रक्तदाता ले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले २५ औं पटक रक्तदान गरिसकेका खड्क बहादुर विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले रगत अभाव कै कारण कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने प्रयास स्वरुप आंशिक लकडाउनका बीचमा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले रगतदान भन्दा ठुलो अरु दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरु सबै ठाउँमा गरिनु आवश्यक रहेको औल्याउँदै रगत सबै मानव जातिलाई नभइनहुने तत्व रहेको प्रष्ट पारे । साथै एक स्वस्थ मानिसले रक्तदान गर्दा रक्तदाता स्वयंलाई फाईदा हुने र ३ देखि ४ जना मानिसको समेत ज्यान बचाउन सकिने हुँदा रक्तदान गर्न प्रोत्साहित गरे।

संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोरोनाको संक्रमणबाट विश्व नै आतंकित भइरहेको परिस्थितिमा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत कार्यक्रममा सहकार्य गर्ने उत्थानशिल दलित महिला सञ्जाल पोखरा–१४ का सम्पुर्ण टिमलाई समेत धन्यवाद दिए।

रक्तदानमा जनप्रतिनिधि, नेता स्थानीयवासी, यूवा, समाजसेवी बुद्धिजीवी लगायतको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमका मुख्य संयोजक शोभा बि.क ले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अर्जुन परियारले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: