बडादशैंको साइत सार्वजनिक, बिहान १०ः१९ बजे टिकाको उत्तम साइत

Share:

पोखरा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीलगायत बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।

विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैं शुरु हुँदैछ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ। देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ। हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत रहेको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ। कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ। फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैं घरमा फूलपाती भित्र्याइन्छ।

फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ८ः५६ बजे गरिनेछ । त्यसै दिन बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ। यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि पूजा हुनेछ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ। यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

दशैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन बिहान १०ः११ बजे देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

विजयादशमीकै दिन बिहान ८ः४७ बजे पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ। तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ। यसैदिन खड्गयात्रा समेत हुनेछ ।

कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ। कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । कोजाग्रत पूर्णिका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने बडादशैं यस वर्ष मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ।

कमेन्ट गर्नुहोस्
Share: