पोखराको जीएमसीमा उपचाररत एक सहित गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत एक पुरुष र कलेज अफ मेडिकल साइन्स चितवनमा उपचारत एक पुरुष गरी दुई कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जा जिल्लाको आँधिखोला –६ स्थायी ठेगाना भइ बुटवल बस्दै आएका ८१ वर्षीय संक्रमित वृद्धकोे मृत्यु भएको हो । उनको पोखरा स्थित गण्डकी मेडिकलमा उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको हो । संक्रमित वृद्धमा मृगौला र मुटु सम्बन्धी समस्या समेत रहेको थियो । उनमा हिजो मात्र कोरोना पुष्टि भएको थियो ।

यस्तै नवलपरासी (व.सू.पू) जिल्लाको गैंडाकोट–१ का ३६ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

ती पुरुषको हिजो (शुक्रबार) दिउँसो ३ः५५ बजे कलेज अफ मेडिकल साइन्स, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: