
काठमाडौं, माघ ३/
आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल युगाण्डासँग खेल्दैछ । दक्षिण अफ्रिकामा अभ्यास खेल खेलेर उतैबाट नामिबिया पुगेको नेपाली टोलीले हिजो र अस्ति दुई दिन अभ्यास गरेको थियो ।
नेपाली कप्तान पारस खड्काले नेपालले प्रतियोगितामा सकारात्मक सुरुवात गर्न चाहेको बताएका छन् । नेपाल र युगाण्डाले डेढ वर्षअघि बर्मुडामा आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ का क्रममा २ खेल खेलेका थिए । समूह चरणको खेलमा नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको थियो । तर फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले हराएको थियो ।
नेपालसँग खेल्न लागेको युगाण्डाका कप्तान फ्रेन्क सुबुगाले पनि नेपालविरुद्ध आफूहरुले राम्रो सुरुवात गर्न चाहेको बताएका छन् ।
यो प्रतियोगिताको शीर्ष २ स्थानमा रहने २ टोली इन्टरकन्टिनेन्टल कप र आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने छन् ।
