डिभिजन टूमा नेपालको खराव सुरुवात, युगाण्डासँग २ रनको झिनो अन्तरले पराजित

Share:

३ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल युगाण्डासँग २ रनको झिनो अन्तरले पराजित भएको छ ।

nepali ckt team

१ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले संयमित सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरू नचल्दा हार बेहोर्नुपर्‍यो। नेपाल १४४ रनमा अलआउट भयो । ओपनर सुवास खकुरेल र नरेश बुढाएरले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए।

नरेश १६ रन बनाउँदै आउट भए भने सुवासले ३२ रन जोडे। त्यसैगरी ज्ञानेन्द्र मल्लले ३४ रन जोडेका थिए। मध्यक्रमका ब्याट्सम्यानहरू कप्तान खड्का ५, शरद भेषवाकर ५ र विनोद भण्डारी १ रन बनाउँदै आउट भए।अन्तिम तीन ओभरमा २७ रन आवश्यक भएका बेला पुछारका ब्याट्सम्यानहरूले आशा देखाएका थिए। यसअघि दशौं नम्बरमा व्याटिङ गर्ने सोमपाललाई सातौं नम्बरमा खेलाइएको थियो । तर, प्रशिक्षक र कप्तानको यो रणनीति सफल देखिएन । ११० रन बनाउँदा ८ विकेट गुमाएको नेपाली टोलीलाई शक्ति गौचनले केही आश देखाए । अन्तिम तीन ओभरमा २७ रन चाहिएको अवस्थामा उनले चौथो र छैटौं बलमा छक्का हान्दै नेपालले आश देखाए ।

तर, ४८.३ ओभरमा उनी क्याचआउट भए । २६ बलको सामना गरेका उनले दुई छक्काको मदतमा १९ रन बनाए । नेपालको पारीमा उनले मात्र छक्का हानेका थिए । अन्तिम ओभरमा नेपालाई १० रन चाहिएकामे थियो । पहिलो बलमा करण केसीले चौका हान्दै फेरि नेपाललाई खेलमा फर्काउने संकेत दिए । अन्तिम ओभरमा ८ रन मात्र बन्न सक्यो र नेपाली टोलीले ५० ओभरमा अलआउट हुँदै १ सय ४४ रन मात्र बनाउन सक्यो।

नेपालले दोस्रो खेलमा भोलि नेदरल्यान्ड्सको सामना गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: