
लमजुङ । लमजुङमा शनिबार ठूलो मात्रामा अबैध रुपमा ल्याइएको जडिबुटीसहित ५ जना पक्राउ परेका छन् ।
मनाङ जिल्लाबाट ग १ ज ७४५३ नं को पिकअप बोलेरो जीपमा जडिबुटी ल्याउदै गरेको अवस्थामा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले बेँसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले लमजुङ दोर्दी गाउँपालिका–८ निवासी जीप चालक ३१ वर्षीय कर्ण गुरुङ, मनाङ नार्फु गाउँपालिका–२ का ४५ वर्षीय लाम्पा छिरिङ लामा, मनाङ नेस्याङ गाउँपालिका–३ की २९ वर्षीया पल्मु लामालाई पक्राउ गरेको छ ।
त्यस्तै बेँसीशहर नगरपालिका–८ निवासी ४४ वर्षीया शान्ता कुमारी तामाङ र ४६ वर्षीय मीनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले जटामसी १८ केजी, बुकीफूल १२४ केजी, धुपीपात ५३ केजी, सुनपाती ९ केजी, भोजपत्र १३ केजी, प्रतिबन्धित पाँच औले ११ केजी पाँच सय ग्राम, निरमसी ५३ केजी, मजिठो १४ केजी, पिप्ला २४१ केजी, सतुवा ८केजी पाँच सय ग्राम, ढालिङ १०६ केजी, कुड्की ५४ केजी, गरी कूल ४८२ केजी फेला परेको जनाएको छ ।
आवश्यक कारबाहीको लागी उनीहरुलाई जिल्ला वन कार्यालय लमजुङ पठाइएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उक्त बरामद जडिबुटीको अनुमानित बजार मूल्य १९ लाख बत्तिस हजार २९० रुपैयाँ रहेको जिल्ला वन कार्यालय लमजुङले बताएको छ ।
घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।
