
काठमाडौँ । चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघिको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन दबाब परेको थियो ।
बैठकले कोरोना भाइरसविरुद्धको खोप बने लगत्तै नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटि समेत बनाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने तथा पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क पनि हटाउने निर्णय छ।
