
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २र२ जना रहेका छन् ।
बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडा नम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
बसमा ४३ जना यात्रु सवार रहेका थिए । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । यद्यपी बसका चालक निदाएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर चालकलाई पनि उपचारका लागि धनगढी पठाइएकाले सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
