
काठमाडाैं माघ ६ / कप्तान पारस खड्काको आक्रामक व्याटिङको मदतमा नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको छ।
मंगलवार भएको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दै आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ दोस्रो जित दर्ता गरेको हो। दोस्रो जितसँगै नेपालले डिभिजन–२ मा कायम रहने सम्भावना बलियो बनाएको छ।
क्यानडाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुमै झट्का लाग्यो।
ओप्नर व्याट्सम्यान सुवास खकुरेल र नरेश बुढाएर सून्य रनमै पेभिलियन फर्किए। दोस्रो ओभरसम्म विना कुनै रन २ विकेट गुमाएको नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले।
उपकप्तान मल्लसँग मिलेर नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ७७ रन जोड। यस्तै उपकप्तान मल्ल ३२ रन तथा विनोद भण्डारी एक रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको क्यानडाले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार पारेको थियो। क्यानडालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ५, सोमपाल कामीले २, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक–एक विकेट लिएका थिए।
यसअघि पहिलो खेल नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेट पराजित गरेको थियो।
