छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

Share:

काठमाडौँ । छठ पर्वको दोस्रो दिनआज ब्रतालुहरुले ‘खरना’ विधिको तयारी गरेका छन् । हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ ।

चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।

आज दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि बुधबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

छठमा विधिपूर्वक सूर्य र छठीमाईको पूजाआजा गरेमा परिवारको कल्याण, सन्तान प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गर्दछन् ।

केही वर्ष पहिलेसम्म मधेसीमूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वतेमूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको पाइएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्ग सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

कमेन्ट गर्नुहोस्
Share: