
नवराज ढुङ्गाना/
पोखरा, ७ माघ
तामाङ समुदायले आज २८५१ औ सोनाम ल्होसार पर्व मनाउँदैछन् । सोनाम ल्होछारको अर्थ भेँडा नयाँ वर्ष हो । नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरूले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।
ल्होछारको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले सम्पूर्ण तामङ जातीहरुका लागि शुभकामना सन्देश दिएका छन् ।
यसैबीच, पोखरामा बैदाम तामाङ समाजले आज दोस्रो ल्होसार म्युजिक फेष्टिबल गर्दैछ ।
फेष्टिबल पोखरा नयाबजारस्थित प्रदर्शनी केन्द्रमा मध्यान्ह १२ देखि साँझ सात बजेसम्म संचालन हुनेछ । फेष्टिबल शुरु हुनुपुर्व शान्तिको कामना गर्दै पुजा अर्चना गर्ने कार्यक्रम तय गरिएको छ । पुजा अर्चना कार्यक्रममा पनि सहभागिताका लागि सवैलाई आग्रह गरिएको छ ।
पुजा अर्चनाका लागि फेष्टिबलस्थलमा नै गुम्बा निर्माण गरिएको छ । फेष्टिबलस्थलमा बनाइएको गुम्बाले छुट्टै रौनक थपेको छ । फेष्टिबलमा कलाकार निमा रुम्बा, रोज मोक्तान, सितल मोक्तान र तिष्णा गुरुङ लगायत सहभागि हुनेछन् । फेष्टिबलमा जी नाइन र अलजाइमर व्याण्डको समेत प्रस्तुती रहने भने ल्होसार सम्बन्धि सांस्कृतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनेछ ।
ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा –६ लेकसाइडस्थित निर्माणाधिन तामाङ शान्ति गुम्वाका लागि अर्थ संकलन गर्ने उद्देश्यले म्युजिक फेष्टिबल आयोजना गर्न लागिएको हो । गुम्बा निर्माणका लागि झण्डै डेढ करोड रुपैयाँ खर्च लाग्नेछ ।
यसपटकको फेष्टिबलबाट १० लाख रुपैया बचत गर्ने लक्ष्य लिइएको छ ।
