
पोखरा । गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत कास्कीका २ र तनहुँका १ जना संक्रमितको मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।उनको बिहिबार राति १ः४० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । कात्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।
सोही अस्पतालमा उपचाररत पोखरा–८ का ५४ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप र मृगौलाको समस्या थियो ।
यसैगरी सोही अस्पतालमा उपचाररत अर्का संक्रमित तनहुँ म्याग्दे ४ का ५१ वर्षीय पुरुषको पनि आज बिहान साढे ९ बजे मृत्यु भएको छ । मृतकमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।
