
तनहुँ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मंसिर १८ गते दमौलीमा आयोजना गरिएको ‘जातिय विभेद र कोभिड–१९ को कारण महिलामा परेको असर’ विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिग्देलले जबसम्म लैङ्गिक हिंसा मुक्त समाज बन्दैन, तवसम्म सभ्य समाज पनि बन्न नसक्ने हुँदा हिंसाका विषयलाई सम्बन्धित ठाउँमा उठाउनु पर्ने बताए । कानुन निर्माण गर्ने तहमा पुगेको हुँदा आफुले हिंसा विरोधी कानुन निर्माणमा सरकारलाई सुझाव दिने सांसद सिग्देलको भनाई थियो ।
लैङ्गिक हिंसाका मुद्धाहरु शहर बजारमा भन्दा पनि गाउँमा बढि हुने भएकोले यस्ता जनचेतनाका कार्यक्रम गाउँमा गरिनु पर्नेमा सांसद सिग्देलको जोड थियो । पछिल्लो समय सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई पनि कडा सजायको व्यवस्था गरेको भन्दै सांसद सिग्देलले त्यसलाई अब संसदले अपनत्व ग्रहण गर्ने बताए । अझै घरेलु हिंसाका केही मुद्धाहरुमा पनि त्यस्तै कडा खालको कानुनको आवश्यकता छ भन्दै उनले त्यसलाई पनि संसदले सम्बोधन गर्ने बताए । हिंसा गर्नेहरुलाई कुनै राजनीतिक दल र आस्थाको आधारमा हेरिन नहुनेमा सांसद सिग्दले जोड दिए ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले कोभिडको समयमा सबैभन्दा धेरै पीडित महिला नै भएको बताए । चाहे स्वास्थ्य परिक्षणको क्रममा होस् चाहे घरायसी काममा नै महिला नै पीडित भएको उनको भनाई थियो । सुत्केरी महिला, गर्भवती र अन्यले समयमा स्वास्थ्य परिक्षण गर्न पनि असहज अवस्था सिर्जना भएको भन्दै उनले स्वास्थ्य कार्यालयको तर्फबाट आफुले सबै स्वास्थ्य संस्थामा निर्देशन पठाई कोभिडको बाहानामा कुनै पनि नागरिकलाई उपचार पाउनबाट बन्चित गर्नु नहुने बताए । तर पनि कतिपय अवस्थामा महिला, अशक्त, जेष्ठ नागरिक र बालबालिकाहरुले सहजरुपमा उपचार सेवा पाउन नसकेको गुनासो आएको अधिकारीको भनाई थियो ।
व्यास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख राधा आचार्यले सरकारी कार्यालयले सेवा प्रवाह गर्दा लैङ्गिक मैत्री हुनु पर्छ भन्नेमा आफुहरु प्रतिबद्ध रहेको बताए । व्यास नगरपालिकाले पनि लैङ्गिकमैत्री व्यवहार गर्दै आएको बताए । स्थानीय तहले पनि कोभिडको समयमा सबै नागरिकले सहज रुपमा सेवा पाउन भन्ने हिसावले काम गरिरहेका उनको भनाई थियो । तर कोभिड या अन्य कुनै महामारीको समयमा सबैभन्दा दुख पाउने र पीडित हुने क्षेत्र भनेकै महिला र बालबालिका हुने आचार्यको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालयका सदस्य श्रीप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले पनि कोभिडको नियन्त्रणकोलागि सचेतनाको कार्यक्रम आयोजना गरेको बताए । विशेष गरि महिला र बालबालिकाको हितमा हुने गरि नीति तथा योजनाहरु तर्जुमा गर्न हामीले स्थानीय तहलाई पनि अनुरोध गरेका उनको भनाई थियो । लैङ्गिक हिंसा गर्ने जो कोही पनि पार्टीको सदस्य छ, भने त्यसलाईकारवाही गर्ने र सदस्यताबाट निस्कासन गर्ने तथा कानुनको जिम्मामा लगाउने काम गरेको श्रेष्ठले बताए ।
नेपाल वार एसोसियनस तनहुँका पुर्व अध्यक्ष अधिवक्ता शिवदत्त ढकालले जातिय विभेदको बारेमा संविधानमा भएको प्रस्तावको व्यवस्था, मौलिक हक अन्तरगत शोषण विरुद्धको हक, दलितको हकको बारेमा सबै जानकार हुनु पर्ने बताए ।
सामुदायीक वन उपभोक्ता महासंघ तनहुँका जिल्ला सचिवालय सदस्य अनिल पाण्डेले बैदेशिक रोजगारीबाट घरका लोग्ने मान्छे फर्किए पनि त्यसको दिर्घकालिन रुपमा परिवारको आर्थिक बोझ र समस्या धेरै महिलालाई नै परेको बताए । संक्रमित पुरुषहरु होम आईसोलेसनमा बसेको समयमा ति पुरुषहरुले प्रयोग गरेको भाडाँ, लत्ता कपडा आदि सफा गर्ने जिम्मेबारी महिलालाई नै परेको भन्दै उनले जसको कारण घर भित्रै बसेका महिला पनि संक्रमणको जोखिममा परको बताए ।
मानवअधिकार निगरानी समुहका जिल्ला संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, संयुक्त दलित उत्थान मन्चका सचिव विनोद बिक, क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमिल्सेना, दलित महिला कल्पना परियार लगायतले पनि जातिय विभेद र कोभिडको कारण सबैभन्दा बढि महिला नै पीडित भएको बताए ।
कार्यक्रममा महिला शसक्तिकरण सन्चार समाज तनहुँकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले कोभिडको कारण महिलामा परेको पिडा र क्षती तथा हिंसाको प्रकृतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उनको कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, स्वास्थ्य कार्यालय तनहुँ दमौली अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कोभिडको समयमा संकलन गरेको तथ्यांकहरु प्रस्तुत गरिएको थियो । कार्यपत्रका उल्लेखित इन्सेकको तथ्यांक अनुसार कोभिडको कारण भएको लकडाउन पछि तनहुँ जिल्लामा १५ वटा बलात्कारका घटना भएको उल्लेख गरिएको छ ।
सो कार्यपत्रमाथि अधिवक्ता शिवदत्त ढकालले टिप्पणी सहितको सुझाव प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ३१ जना विभिन्न सरोकारवालहरुको सहभागिता रहेको थियो ।
