
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार अक्षम्य अपराध हुने बताएका छन्।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने बताए। उनले पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको सकेत दाबी गरे।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण, व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए। “वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ। देशको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको छ।” सन्देशमा भनिएको छ, “ठूला विकास आयोजनाहरुको काम अघि बढेको छ । मुलुकको मुहार फेर्ने ‘गेम चेन्जर प्रोजेक्ट’हरुको काम अघि बढेकै छ । सामाजिक सेवा क्षेत्रमा देखिएका विकृति, असङ्गति र समस्याको निराकरण गर्दै सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लगिएको छ । नवीनतम् सूचना प्रविधि उपयोग गर्दै आम नागरिकलाई सेवा दिने अग्रभागका निकायमा अनलाइन सेवा शुरु गरिएको छ । प्रायः सबैजसो स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब आठ हजार उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनैपर्ने अडान दोहोर्याएका छन् । “भष्टाचार हुनै नदिनु हाम्रो प्राथमिकता हो। यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक छ”, उनले भनेका छन्।
विश्वभर ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न ९ डिसेम्बर २००३ मा खुला गरिएको थियो। त्यसै वर्षदेखि ९ डिसेम्बरमा यो दिवस मनाउने गरिएको हो।
