यस वर्ष विवाह पञ्चमीमा अयोध्याबाट जन्ती नआउने

Share:

जनकपुर । यसवर्षको विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने भएको छ । विश्वभर कोरोना भाइरसको महामारी कायमै रहेकाले यसपालिको विवाह पञ्चमी ठूलो उत्सवविना मनाइने भएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण नेपाल–भारत सीमा अझै बन्द रहेकाले अयोध्याबाट जन्ती नआउने सम्भावना रहेको छ ।

अघिल्ला वर्षहरुमा १५ दिन अघिदेखि नै रमझम शुरु हुने जनकपुरस्थित जानकी मन्दिरमा यसपालि केही चहलपहल छैन । यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने बताइएको छ ।

भगवान राम र सीताको विवाह भएको स्मरणमा हरेक वर्ष जनकपुरधाममा निकै तामझामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: