उपल्लो मुस्ताङको अर्का गाउँबाट उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात

Share:

मुस्ताङ। गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिकाबाट शुरु गरिएको छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेको हिमाली जिल्ला मुस्ताङको विभिन्न तीन गाउँपालिकामा चार सय सोलार जडान गरी उज्यालो गण्डकी प्रदेशको घोषणा अभियान सुरु गरिएको हो । मुस्ताङको लोमन्थाङ गाउँपालिका, लो घेकर दामोदर कुण्ड गाउँपालिका र बारागुङ मुक्ति क्षेत्रमा रहेका गाउँहरु जहाँ स्थानिय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत लाइन समेत पुग्न नसकेको ४ सय घरधुरीमा सोलार जडान गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिएको हो ।

लोमन्थाङको अर्का गाउँमा रहेको सामुदायिक भवनमा जडान गरिएको सोलारको बत्तीको स्वीच अन गरी गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात गरेका हुन् ।

लोमन्थाङ गाउँपालिकाको १,२, ३ र ४ को छोसेर, अर्का, सम्जुङ, भर्चा, न्यानोल, ढुक, ठिंगर, फुवा, नाम्ग्याल, किम्लिङ, न्याम्डो, चुङजुङ, लो घेकर दामोदर कुण्ड गाउँपालिकाको ५ नम्बरमा पर्ने ताङग्या र ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउपालिकाको साङता गाउँको गरी ४ सय घरधुरीमा जहाँ केन्द्रिय प्रशारण लाइन र स्थानिय लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत लाइन नपुगेको ठाउँमा सोलार जडान सम्पन्न भएको उद्घाटनको क्रममा मन्त्री बस्नेतले बताए । गण्डकी प्रदेश गठन भएसँगै पहिलो बैठकबाटै पहिलो आयोजना गण्डकी प्रदेशलाई उज्यालो बनाउने गरी आयोजना गरेको र अबको दुई वर्ष भित्रमा गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उद्देश्य अनुरुप सरकार अगाडी बढेको र राष्ट्रिय प्रशारण लाइन पुर्याउन नसकिने गाउँहरुमा हाललाई सोलार बत्तीबाटै घरमा उज्यालो बनाउने उद्देश्य रहेको र सोही अनुरुप हिमाली जिल्ला मुस्ताङको अर्का गाउँबाट उज्यालो गण्डकी प्रदेशको शुभारम्भ गरिएको उनको भनाइ रहेको थियो ।

प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशतमा सोलार जडान गरिएको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित भएको ६८ लाख ६१ हजार लागतमा मुस्ताङको ४ सय घरधुरीमा सोलार जडान गरिएको हो । गत आर्थिक वर्षमा नै सोलार जडान सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारको भएतापनि कोभिडका कारण ढिलाई भएको मन्त्री बस्नेतले बताए । २०७४ फागुन ४ गते आफुहरुले बैठक बसेर पहिलो निर्णय गरी गण्डकी प्रदेशको ११ वटै जिल्लामा बत्ती पुर्याउने लक्ष्य अनुरुप अगाडी बढेको र सोही अनुरुप बत्ती जडानको सुरुवात गरी मुस्ताङबाट उज्यालो प्रदेशको सुरुवात गरेको बताए ।

मन्त्रालयका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्रालय जलश्रोत तथा उर्जा महाशाखा प्रमुख हरिदत्त पौडेलले राष्ट्रिय प्रशारण लाईन पुर्याएर मात्र सौर्य उर्जा जडान गर्ने सरकारको लक्ष्य अनुसार सम्भव नभएपछि सौर्य उर्जा जडान गरि विकटका गाउहरुमा वत्ती पुर्याइएको बताए । विद्युत प्राधिकरणको सहकार्यमानै विकटका बस्तीहरुमा सौर्य उर्जा जडानको काम गरिएको उनको भनाइ रहेको थियो ।

पौडेलका अनुसार प्रदेश भरिका ११ सय ५ घरधुरीमा सोलार बत्ती जडान गर्ने काम भइरहेको र यसका लागी दुइ करोड रुपैया विनियोजन गरिएको छ । अहिलेसम्म प्रशारण लाइन नपुगेको मनाङ, म्यादी र गोरखाको हिमाली क्षेत्रमा सोलार बत्ति जडान गरिने प्रदेश सरकारको लक्ष्य रहेको छ । प्रवक्ता पौडेलका अनुसार गोरखाको धार्चे र चुम्नुब्री गापामा ४ सय ६०, म्याग्दीको धवलागिरी गापामा एकसय २० र मनाङको नार्पाभूभि गापामा एकसय २५ वटा सोलार जडान गरिनेछ । यसको लागि मन्त्रालयबाट मनाङमा २० लाख ६८ हजार, म्याग्दीमा २० लाख ७३ हजार र गोरखामा ८० लाख रुपैया विनियोजन गरेको छ ।

उज्यालो प्रदेश घोषणा मुस्ताङबाट गरेकोमा मुस्ताङको उपल्लो क्षेत्रबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले प्रदेश सरकार गठन संगै आफ्नो क्षेत्रमा विकासका लहरहरु छाएको बताए । प्रदेश सरकार र आफ्नो निर्वाचन पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत कृषि, पर्यटन र पुरातात्विक सम्पदाहरुको संरक्षणका कामहरु भइरहेको र आगामी दिनमा पनि विकासका काममानै आफु लागिपर्ने बताए ।

जिल्ला समन्वय समिती मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले बिकासको काममा कसैले पनि आफ्नो अर्काको राजनैतिक आक्षेप नलगाइकन एकजुट भएर लाग्नुपर्ने बताइन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सोलार जडान गरेपनि त्यसको संरक्षण गर्नुपर्नेमा समेत जोड दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: