नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, पारस–पुबुदुले के भने ?

Share:

काठमाडौं, माघ १२ । नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । प्रतियोगिता जितेर डिभिजन–१ मा पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा अभ्यास खेलेर नामिबिया गएको नेपाल ६ टिम सहभागी प्रतियोगितामा चौंथो बनेको थियो । नेपालले हराएका नामिबिया र नेदरल्यान्ड्स भने डिभिजन–१ मा पुगे ।

त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कप्तान एवं डिभिजन–२ का म्यान अफ द सिरिज पारस खड्काले उपाधि जित्न गएपनि सफल हुन नसकेको बताए । उनले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी उत्पादन गर्नका लागि भौतिक पूर्वाधारका साथै धेरैभन्दा धेरै प्रतियोगिता गर्न आग्रह गरेका छन् ।

विमानस्थलमा खेलाडीहरुलाई स्वागत गर्न खेलकुद परिषद र क्रिकेट संघका केही पदाधिकारीमात्र उपस्थित थिए । यसअघि भएको डिभिजन–२ बाट ‘थ्री’ मा घटुवा भएको नेपालले योपटक भने डिभिजन–२ मै रहने सफलता हासिल गरेको हो ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल कति तयार ?

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलमा पेश भएको प्रस्ताव पास भए भने नेपालले अबको दुई वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । नामिबियामा डिभिजन टूमा नेपाल चौथो भयो । तर, नेपाल र केन्यालाई पनि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिने प्रस्ताव गएको छ ।

नेपाली प्रशिक्षक पुवुदु दशानायकले भने-यो प्रस्ताव गएको छ तर, आईसीसीले निर्णय गर्न बाँकी छ । सामान्यतया प्रस्ताव गएपछि ९९ प्रतिशत हुन्छ ।’ उनले अघि भने-हामी टप टुमा पर्न सकेनौं तर, टप टीमलाई हरायौं । मेरो व्यक्तिगत विचारमा नेपालले जे चाहेको थियो, त्यो पाएको छ ।’ वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल छनोट भयो भने स्कटल्याण्ड, आयरल्याण्ड, जस्ता देशहरुलाई ५० ओभरको दुई-दुई खेल खेल्ने मौका पाउनेछ । डिभिजन टू खेलेर नेपाली टीम सोमबार घर फर्किएको छ । अबको दुई महिना कुनै पनि अन्तराष्ट्रिय खेल तालिका छैन । घरेलु लिगको अत्तोपत्तो छैन ।

टेष्ट कन्ट्रीको क्लब क्रिकेट संरचना खेल्नुपर्छ

यस्तो अवस्थामा हामीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पायौं भने हामी तयार छौं त ? प्रशिक्षक पुवुदु भन्छन्-‘हामी छनोट भयौं भने म एकदमै खुसी हुनेछ । तर, अर्को पक्षबाट हेर्दा हामी १०० प्रतिशत तयार छैनौं । हामीसँग त्यसको तयारीका लागि आवश्यक प्रतियोगिता छैन ।’

नेपाली टीमका कप्तान पारस खड्का मत पनि प्रशिक्षक पुवुदुको जस्तै छ । ‘अब नेपाली क्रिकेटरहरुलाई टेष्ट खेल्ने देशहरुमा क्लब क्रिकेट संरचनामा अव्यस्त बनाउनुपर्छ । यो नै अगाडि जाने बाटो हो’-खड्काले भने । अहिलेसम्म नेपाली क्रिकेटरहरु सिमित घरेलु प्रतियोगिता र क्याम्पको भरमा खेल्दै आएका छन् । त्यसका आधारमा नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन चानचुने कुरा होइन । तर, नेपाली क्रिकेट अहिले जुन स्तरमा पुगेको छ, त्यसबाट तल नर्झन र अघि बढाउन यतीले मा पुग्दैन । पुवुदु नेपाली क्रिकेटरहरुले अब देश बाहिर गएर राम्रो क्रिकेट खेल्नुपर्ने बताउँछन् । साथै नेपालको घरेलु लिग संरचना पनि सुधार गर्नुपर्ने बताए ।

सफलताको श्रेय पाँच बलरलाई

डिभिजन टूमा नेदरल्याण्ड र नामिबियाविरुद्ध नेपालले हात पारेको जित निकै महत्वपूर्ण हो । पहिलो खेलमा नै युगाण्डासँग ब्यहोरको हार भने झड्का थियो । टीमका कप्तान र प्रशिक्षक दुबै यसमा सहमत छन् । प्रशिक्षक पुवुदुले भने-‘युगाण्डासँगको खेलले निकै निराश बनायो । तर, समग्रमा हाम्रा खेलाडीहरुले नामिबियामा जस्तो खेले, त्यसबाट म सन्तुष्ट छु ।’ उनका अनुसार डिभिजन टूमा तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको ओपनिङ जोडी सिंगो प्रतियोगितामा नै उत्कृष्ट बलिङ जोडी रहृयो । उनले भने-‘नेदरल्याण्ड र नामिबियाभन्दा हामीले राम्रो जोडी भेटाएका छौं ।’ नामिबियामा नेपालले हात पारेको सफलताको मुख्य कारण पाँच बलर (सोमपाल, करण, पारस, शक्ति गौचन र बसन्त रेग्मी) भएको उनले बताए ।

ब्याट्सम्यानको क्षमतामा प्रश्न छैन

ब्याटिङमा नेपालले ओपनिङ जोडी जमेन भने फिनिसिङ पनि चित्त बुझ्दो रहेन । तर, प्रशिक्षक पुवुदु दशानायके भन्छन्-‘नेपाली ब्याट्सम्यानहरुको क्षमतामा कुनै प्रश्न छैन । मुख्य कुरा मेन्टालिटी हो, जुन पारस र ज्ञानेन्द्रले देखाए । विनोद अन्तिममा आए । शरद पनि थिए । तर, नयाँ खेलाडीहरु क्षमतावान छन् । प्रतियोगितामा असफल भए भनेर चि लिनु पर्दैन ।’

कमेन्ट गर्नुहोस्
Share: