
काठमाडौं, माद्द १६ । आज शहीद दिवस । तत्कालीन एकतन्त्रीय जहाँनिया राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण शहादत प्राप्त गरेका चार सपुतहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदन्ड दिएको दिनको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ ।
शहीद दिवसको अवसरमा शुक्रबार बिहान काठमाडौको लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै शहीदप्रति सम्मान प्रकट गरेका हुन् ।
यसैगरी, सभामुख सुवास नेम्वाङ, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतले पनि शहीदहरुप्रति सम्मान व्यक्त गरेका थिए ।
शहीद दिवसकै अवसरमा सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले देशको अस्तित्व रक्षा र जनताको हक–हीत, अधिकार र स्वतन्त्रताको निम्ति आफ्नो जीवन आहुति दिने महान शहीदहरुको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै देशको शीतमा लाग्न सबैलाई आह्वान गरेका थिए ।
संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रयुक्त शासन व्यवस्था ल्याउन धेरै नेपाली सपूतहरुले ज्यान अर्पण गरेको स्मरण गर्दै प्रधानमन्त्रीले यो दिवसले देश, लोकतन्त्र र आम जनताकाप्रति इमान्दारीपूर्वक समर्पित भएर काम गर्ने प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले सन्देशमा ‘संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुसमक्ष सहिदहरुको बलिदानको पुनःस्मरण गरी अहिलेसम्म हासिल भएका उपलब्धिहरुलाई संविधानमा संस्थागत गर्ने अभियानलाई छिटोभन्दा छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा इमान्दारीपूर्वक सहभागी हुन अनुरोध गर्दछु’–भनेका छन् ।
नेपालका चार सपुतहरुलाई बिक्रम सम्वत् १९९७ सालको माघ महिनामा तत्कालीन राणा शासकहरुले कठीन यातनापछि मृत्युदन्ड दिएका थिए । राणा शासकहरुले यी शहीदहरु मध्ये शुक्रराजलाई माघ १० गते टेकु पचलीमा रहेको खरीको रुखमा झुन्ड्याएर मृत्युदन्ड दिएका थिए ।
यस्तै, माघ १३ गते धर्मभक्तलाई सिफलमा, १५ गते गंगालाल र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदन्ड दिइएको थियो । चार शहीदको सम्झनामा काठमाडौ महानगरपालिकाले माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।

