
रञ्जन अधिकारी पोखरा, १६ माघ / देश र जनताका लागि प्राण आहुति गर्ने शहीदहरुको सम्झना पोखरामा शुक्रबार साँझ दीप प्रज्ज्वलन गरी मनाईयो । पोखरा जेसीज, पोखरा युनाईटेड र विवेकशील नेपाली पोखराको संयुक्त आयोजनामा शहीदचोक स्थित सहीद पार्कमा मैनबत्ती प्रज्ज्वलन, माल्यार्पण र श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदहरुको सपना साकार पार्नुपर्ने बताए । ‘मुलुक नेताहरुलाई गाली गरेर मात्रै पनि बन्दैन । हामी जहाँ छौं, आफ्नो स्थानबाट पनि देशका लागि के गर्न सक्छौं भन्नेबारे सोचौं’ – पौडेलले भने– ‘जसरी मैनबत्ती आफू जल्दै अरुलाई उज्यालो छर्दै सकिन्छ, ति मैनबत्ती जस्ता शहीदहरुले सपना साकार पार्नुपर्छ ।’ उनले सरकारले राष्ट्रिय बिदा घोषणा गर्दैमा शहीदको सम्मान नहुने भन्दै शान्ति, हिंसामुक्त समाज निर्माणका लागि सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।
पोखरा जेसीजका अध्यक्ष छवि सुवेदीले युवाहरुले देशको परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । विवेकशील नेपाली, पोखराका खेम श्रेष्ठले चार सहीदहरु युवा उमेर समूहमै देशका लागि ज्यानलाई बलि चढाउन तयार भएको स्मरण गर्दै यही युवा उमेर समूहले नै देशको लागि गर्न सक्ने बताए ।
कार्यक्रममा पोखरा युनाईटेडका मोहन कार्कीले स्वागत तथा पोखरा जेसीजका उपाध्यक्ष जेसी सुवास सुवेदीले संचालन गरेका थिए । सो अवसरमा सहीदहरुको स्मरणमा सबैले पालैसित सहीद स्तम्भ परिसरमा मैनबत्ती प्रज्ज्वलन गरे ।

