
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ नसकिएपछि सोमबार (आज) का लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट सुनुवाइ शुरु भएको हो ।
आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए ।
बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
