
इलाम, माघ १८ । त्रिभुवन आर्मी क्लव ईलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वार्टरफाइनलमा झापा ११ लाई १-० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
आर्मीलाई जिताउने क्रममा खेलको १६ औं मिनेटमै टंक बस्नेतले गोल गरेका थिए ।
खेलमा झापा ११ का गोल गर्ने आधा दर्जन सुन्दर अवसरलाई आर्मीका गोलरक्षकले निस्तेज पारेका थिए ।
आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापा ११ ले प्रिक्वार्टरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लवलाई २-० ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएको थियो ।
यसअघि भएको पहिलो क्वार्टरफाइनलमा बंगलादेशको टिमलाई ४-० ले पराजित गर्दै नेपाल पुलिस क्लवले अन्तिम चारमा ठाउँ पक्का गरेको थियो ।
तेस्रो क्वार्टरफाइनलमा सोमबार थ्रीस्टार क्लवले भारतको सिक्किम फुटबल क्लवसंग खेल्ने कार्यक्रम छ ।

