
पोखरा । आज ६८ औं विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम गरिँदैछ ।
सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर तराईका १६ जिल्लामा बर्सेनि तीन हजार कुष्ठरोगका बिरामी भेटिने गरेको सरकारी तथ्याङ्क छ । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।
कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले जोखिम बढ्दै गएको विज्ञको भनाइ छ ।
छाला र नशामा देखिने कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।
कतिपय सङ्क्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।
कुष्ठरोग वंशाणुगत रोग भने होइन । तर परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् ।
