प्रतिगमनको विरुद्ध शान्ति समाजको अभियान

Share:

पोखरा । मानव अधिकार तथा शान्ति समाज, कास्कीले “असंवैधानिक र अलोकतान्त्रिक तवरमा प्रतिनिधि सभा बिघटनः प्रतिगमनको सिलसिला” विषयक नागरिक सभा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिगमनको विरुद्ध देशब्यापी रुपमा अभियान सञ्चाल नगर्दै आएको समाजले पोखरामा कास्की शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख वक्ता एवं समाजका संस्थापक सभापति कृष्ण पहाडीले के.पी.ओलीको सरकार यति बेला उल्टो दिशामा हिडिरहेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार राणाकालिन र पञ्चायत कालिन शासकहरु भन्दा पनि क्रुर र तानाशाही प्रवृत्तिको भएको टिप्पणी गर्दै प्रधानमन्त्री के.पी.ओलीले देशलाई २०१७ सालतिर धकेल्न खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले विधि, पद्धति र संविधानको मर्मलाई कुल्चेर एकपछि अर्को असंबैधानिक कदम चालेको भन्दैै पौष ५ गतेको संसद विघटनको कदमदेखि एकलौटी ढंगले संवैधानिक निकाय प्रमुखहरुको नियुक्ति तानाशाही प्रवृत्तिको पराकाष्टा भएको बताएका छन् ।

मन्तब्यका क्रममा सभापति पहाडीले प्रधानमन्त्री के.पी.शर्मा ओलीका हरेक कदम अलोकतान्त्रिक भएको भन्दै जनताको रगत र पसिनाले ल्याएको गणतन्त्र र लोकतन्त्र ओलीका कारण खतरामा परेको बताएका छन् । उनले प्रजातान्त्रिक मूलुकमा शक्तिको स्रोत सदन र सडकमा हुने भन्दै प्रधानमन्त्री ओलीलाई सडकको शक्तिले पाखा लगाउने समेत बताएका छन् । एक प्रसंगमा उनले हालै म्यानमारमा भएको सैनिककुः र ओलीको कदम उस्तैउस्तै भएको समेत संज्ञा दिएका छन् । संस्थापक सभापति पहाडीले देशमा अराजकता सृजना हुनुमा अन्य दलहरुको पनि उत्तिकै जिम्मेवारी रहेको भन्दै लिग छाडेर दौडन लागेको सरकारलाई बेलैमा लगाम लगाउन नसक्दा यो दुर्गति निम्तिएको बताए ।

सभापति पहाडीले बन्द, हडताल प्रजातन्त्र विरोधी गतिविधि भएकाले बन्द आह्वान कर्ता लगायत सबै राजनीतिक दलहरुलाई अराजकताका विरुद्ध शान्तिपूर्ण र अहिंसात्मक तवरले लड्नुपर्ने भन्दै दलहरुले जनतालाई दुःख दिन नहुने सुझाएका छन् । देशका सबैजसो राजनीतिक दलहरुमा गुटबाद हावी भएकाले दलका नेताहरु जनताको पीरमर्का सुन्नुभन्दा पनि शीर्ष नेताहरुको चाकडीमा समय खर्चेको समेत बताए। साथै उनले नागरिकहरु खुसी नभएका बेला तानाशाहहरुले अवसर छोप्ने भन्दै नागरिक समाज यसका विरुद्ध लड्न संधै तैयार रहनु पर्ने आग्रह समेत गरे ।

कार्यक्रमका अर्का वक्ता समाजका संस्थापक सदस्य कृष्ण कंडेलले राजनीतिकदलहरु आफ्नै घोषणा–पत्रमाउल्लेख भएका नीति तथा कार्यक्रम विपरित कार्य गरेको भन्दै जनताको बलबुताले ल्याएको लोकतन्त्र जोगाउन नागरिक समाज एकजुट भएर लड्नुपर्ने बताए । यसैगरी केन्द्रिय सभापति उत्तम पुडासैनीले राजनीतिकदलहरु माथि जनताको भरोसा टुटेको बताउँदै दलहरु नसच्चिए सम्म देशमा सुशासन स्थापित नहुने बताए ।

कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उप–सभापति गोविन्द खनाल, महासचिव सुशिल बस्तेत, सचिव पुष्पा मल्ल, कास्कीका पूर्व सभापति देवीलाल शर्मा, नागरिक समाज कास्कीका संयोजक ईन्द्र कमल मानन्धर, पत्रकार श्याम कुँवर, वरिष्ठ पत्रकार नारायण कार्की, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला लगाएतले मन्तब्य राखेका थिए । यसैगरी कार्यक्रममा कवि अर्जुन पराजुली र शान्ति समाज कास्कीका साहित्य संयोजक विर्सना बस्नेतले नयाँ राजनीतिक घटनाक्रम माथि ब्यंग्य प्रहार गर्दै कविता एवं मुक्तक वाचन गरेका थिए ।

कार्यक्रम शान्ति समाज कास्कीका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य उप–सभापति तीर्थराज न्यौपानेले राखेका थिए । कार्यक्रम सचिव रामकृष्ण ढुङ्गानाले संचालन गरेका थिए । मानव अधिकार तथा शान्ति समाज नेपालकोे २३ औं राष्ट्रिय परिषद बैठक कास्की शाखाको आतिथ्यतामा यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: