पोखरामा सिसिटिभीयुक्त अत्याधुनिक बस

Share:

२० माघ, पोखरा । पोखरा बस व्यवसायी समितिले आधुनिक सुविधायुक्त १७ वटा बस सन्चालनमा ल्याएको छ । सहरका मुख्य चोकहरु हुँदै चल्ने गरी ल्याइएका बस सेवा बुधबारबाट सुरु हुँदैछ । यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै जिपिएस, सिसिटिभी र एलसिडीसहितका बस थपिएको जानकारी समितिले दिएको छ । थोरै सिट भएका तर सडकमा धेरै ठाउँ ओगट्ने गाडी हटाउने उद्देश्यसहित समितिले गत वर्षबाट ठूलो आकारका नयाँ गाडी ल्याउन थालेको थियो ।
नयाँ थपिएका सबै बसमा ३० भन्दा सिट बढी क्षमता छ । गत वर्ष पनि समितिले १७ वटा नै बस थपेको थियो ।

गण्डकी अञ्चल यातायात व्यवस्थापन समितिले २०६९ सालमा दिएको एक प्रतिवेदनले यातायातका साधनको चाप नबढ्ने गरी ‘मास ट्रान्सपोर्टेसन’मा जानुपर्ने सुझाएको थियो । त्यही सुझावअनुसार चल्दै बस व्यवसायी समितिले चरणवद्ध रुपमा ठूला नयाँ बसहरु थप्ने अभियान चालेको हो । सन् २००१ देखि २००२ मोडलका पुराना सवारी साधन विस्थापन गरी अत्याधुनिक प्रविधियुक्त नयाँ गाडी थपिएको जानकारी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले दिए । ‘वातावरण अनुकूल हरियो र पहेलो रंगका बसहरु छन्’, उनले भने, ‘युरो ३ मापदण्डको र फराकिलो यात्रुसिट समेत छ ।’ यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशिक्षित चालक परिचालकको व्यवस्था समेत गरेको उनले बताए ।

नयाँ बसहरु मणिपाल अस्पतालबाट पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, अमरसिहचोक, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा छोरेपाटन भएर बेलघारीसम्म नियमित सञ्चालन हुनेछन् । गत वर्ष पहिलो चरणमा सञ्चालनमा ल्याइएका १७ वटा बस बगरबाट खाल्टे मसिना रुटमा चलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: