
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे आयोगमा उपस्थित हुने कार्यक्रम रहेको छ ।
यसअघि यही माघ १६ गते आयोगले नेकपाको दुवै (ओली र प्रचण्ड–माधव) समूहलाई छलफल गर्न बोलाएको थियो । सो छलफलमा नेकपाको ओली समूहका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड–माधव पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।
तर त्यसको केहि दिनपछि प्रचण्ड–माधव समूहले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।
नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।
