देशभर बदली, वर्षा र हिमपालको सम्भावना कहाँ–कहाँ?

Share:

पोखरा । देशभरको मौसम आज बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको हो ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशसहित प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली भएको छ । अन्य स्थानको मौसम भने सामान्यतया सफा छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: