पोखरामा समलिंगी तेस्रोलिंगी खुल्ने क्रम जारी

Share:

रञ्जन अधिकारी पोखरा २२ माघ / समलिंगी तेस्रोलिंगीको हक अधिकारका लागि क्रियाशील संघसंस्थाहरुले जनचेतनामा वृद्धिसँगै आफ्नो पहिचान लुकाएर हिँड्नेहरु अब खुल्न थालेको जानकारी दिएको छ । पछिल्लो वर्ष मात्रै ५१ जना समलिंगी तेस्रोलिंगीले आफ्नो परिचय खुलाएको पोखरामा विहीबार आयोजित कार्यक्रममा जानकारी गराईयो ।

यूनिसेफको सहयोगमा नौलो बिहानी पोखराले आयोजना गरेको सामाजिक लेखा परीक्षण कार्यक्रममा नौलो बिहानी पोखराका कार्यक्रम संयोजक राजु थकालीले धेरै संख्यामा रहेपनि परिवार र छरछिमेकीले घृणा गर्ने डरले अझै खुल्न नसकेको बताए । पोखरामा दुई सयको हाराहारीमा खुलेर हिँड्ने गरेका छन् । नेपालभर चार लाख र कास्कीमा चार हजार जना समलिंगी तेस्रोलिंगी रहेको आँकडा समेत उनले प्रस्तुत गरे ।

सो अवसरमा अक्टोबर २०१३ देखि १५ महिना सम्म संचालित ‘हाम्रो सवाल, हाम्रो सहभागिता’ कार्यक्रमको उपलब्धीबारे साथी शिक्षक अञ्जली थापाले जानकारी गराएकी थिईन् । पोखरा तथा आसपासका समलिंगी तेस्रोलिंगी किशोर किशोरीलाई केन्द्रीत परिवर्तन नेपालको सहयोगमा संचालन गरिएको कार्यक्रमको यो अवधिमा हालसम्म एक सय २५ जना सहभागी भएकोमा ५१ जना सार्वजनिक भएका हुन् । अझै पनि समाजले हेर्ने देष्टिकोण सकारात्मक हुन नसकेकाले कार्यक्रममा सहभागी हुन नचाहेकाको संख्या धेरै भएपनि यस बीचमा यतिको संख्यामा खुल्नु पनि सकारात्मक कुरा नै रहेको उनको ठहर छ ।

‘हामी पनि मान्छे नै हौं, समाजमै बस्छौं, पढेका छौं तरपनि हामीमाथि हेर्ने नजर सकारात्मक हुन सकेको छैन । यद्यपी सन्तोषजनक रुपमा अघि नै बढेको पाएका छौं’ उनले भनिन्– ‘कानुनले समेत बराबरी मानिसकेको अवस्थामा अझै जनचेतनाको खाँचो । यही कुरालाई बुझाउँदै कार्यक्रम अघि बढाएका छौं ।’ कार्यक्रमले समलिंगी तेस्रोलिंगी किशोर किशोरीलाई यसबारे जानकारी गराएर खुलेर आउन प्रोत्साहन गर्ने बताउँदै एचआईभी एड्सबारे शिक्षा दिएर यसको न्यूनिकरण गर्न पनि भूमिका खेलेको उनले बताईन् ।  सहभागीहरुलाई युनिसेफहरुले खेल सामाग्री, कार्ड, किताबहरु सहयोग गरेको छ । बजेट अभावले सबै गाविसमा पुग्न नसकिएको र हाल पोखरामै केन्द्रित रहेको बताईन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालको पाईलट प्रोजेक्टका रुपमा हाललाई पाँच जिल्लामा संचालन भईरहेको ‘हाम्रो सवाल, हाम्रो सहभागिता’ कार्यक्रमले किशोरकिशोरीलाई आत्मविश्वास बढाउन सफल र हिंसा विरुद्ध आवाज उठाउन सक्ने भएकाले सफल भएको उनले बताईन् । कास्की सहित काठमाण्डौं, चितवन, सुनसरी र रुपन्देहीमा यो कार्यक्रम सञ्चालन भईरहेको छ ।

नौलो बिहानी कार्यक्रम संयोजक राजु थकालीको अध्यक्षतामा भएको कार्यक्रममा अञ्जली थापाले कार्यपत्र प्रस्तुत गरेकी थिईन् भने परिवर्तन नेपालका मानवअधिकारकर्मी राज थापाले कार्यक्रमको सञ्चालन गरेका थिए । समापन विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: