बुधबार गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

Share:

पोखरा । पोखराका १२ सहित बुधबार गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका १५ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दी, स्याङ्जा र तनहुँका एकएक जनामा पनि कोरोना देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८६३ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट पोखरामा आज एक महिलाको मृत्यु पुष्टि भएको छ ।

योसहित, गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ३९४ पुगेको छ ।

हाल प्रदेशभर २६५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २४१ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २४१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार ३४७ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: