
रञ्जन अधिकारी पोखरा, २३ माघ /लघुकथाकार कल्याण पन्तले आफ्नो दोस्रो कृति ‘प्रसाद’ लघुकथा संग्रह बजारमा ल्याएका छन् । दुई वर्ष अघि ‘समय सन्दर्भ’ लघुकथा संग्रह प्रकाशन गरेका पन्तको ‘प्रसाद’ शुक्रबार लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले साहित्यिक जमघटका बीच पोखरामा लोकार्पण गरे । जनप्रिय साहित्य समाज पोखराका सचिव रहेका वनस्पतिशास्त्रका प्राध्यापक पन्तको यो कृति समाजले नै एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।
प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा पोखरा निम्ताईएका श्रेष्ठले पन्तका लघुकताहरु नेपाली समाजमा बाँचेको जीवन, भोग्नुपरेका विकृति र विसंगतिहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रतिबिम्बित गरेको बताए । ‘आजको समय, प्रविधि र घट्दो मानवीयता वरिपरी घुमेका लघुकथाहरुमा कल्याण पन्तको आÇनोपन छ’ – उनको टिप्पणी छ– ‘लघुकथाकै स्वरुप र संरचनाबारे व्यापक मतभिन्नता रहँदा लघुकथामा उनको छुट्टै विशेषता छ ।’ उनले लघुकथाका सन्दर्भमा व्यापक विचार विमर्श भएपनि लघुकथा तीन सय शब्दमा लेखिनुपर्ने निचोड रहेको सुनाए ।
कृतिमाथि समिक्षा गर्दै डा. लक्ष्मीशरण अधिकारीले कुनै पनि सिर्जनमा समाजबोध जरुरी रहेको उल्लेख गर्दै राजनीतिक, सामाजिक र आर्थिक रुपमा व्यंग्य गर्न कृति सफल भएको बताए । ‘लेखक आदर्शवादी देखिएता पनि समग्रमा कृतिको मूल्यांकन गर्दा पठनीय र ओजपूर्ण छ’– अधिकारीले भने– ‘विद्यमान नेपाली समाजका समस्या, भ्रष्टाचार, नेतृत्वप्रतिको आक्रोश, मानवीय मनोवृत्तिलाई खोतलिएको छ ।’
प्रा.डा. विष्णुप्रसाद पौडेलले लघुकथा व्यङ्ग्यात्मकता, व्यञ्जनात्मता, प्रतिकात्मकता पूर्ण बन्न सके दृष्टि घनत्व बढ्ने उल्लेख गर्दै समाजमा हामीले देख्दै र भोग्दै आएका समस्यामूलक विषयलाई आलोचनात्मक दृष्टि चेत सहित सरल भोषामा भन्ने खुशी राम्रै देखिएको बताए ।
जनप्रिय क्याम्पस प्रमुख बिरञ्जी गौतमले बनस्पती शास्त्रमा विज्ञ पन्त साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय र प्रतिभावान् रहेको भन्दै प्रशंसा गरे। उनले आफू पहिलो कृति देखि नै पन्तको लघुकथाप्रति आकर्षित भएको सुनाए ।
प्रकाशक प्रेम कुमारी गुरुङले पुस्तकमा जीवनमा भोगिने, जानिने यथार्थलाई पन्तले लघुकथाका रुपमा सुत्रबद्ध गरेको जनाउँदै सजीव चित्रणयुक्त संग्रह प्रकाशित गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन् ।
लेखक पन्तले पोखरेली साहित्यको गद्य लेखन क्षेत्रमा सक्रिय हुने मनसायले यस क्षेत्रमा लागिरहेको भन्दै लघुकथा लेखनमा आफूले न्याय गरेको जस्तो लागेको अनुभूति सुनाए। ‘पाठकका सबैका भिन्न दृष्टि हुन्छन् । मलाई त आÇनो रचना सबै ओजनदार र उत्कृष्ट लागेको छ ।’ उनले भने ।
कार्यक्रमको अध्यक्षता समेत गरेका समाजका अध्यक्ष आनन्दमणि रिजालले लघुकथा रचनामा अनवरत साधनारत पन्तको यो कृतिले यस विधामा उनको अत्यन्त समुज्ज्वल भविष्यको रेखाङ्कन गरेको बताए ।
‘प्रसाद’ मा ५६ ओटा लघुकथा संग्रहित छन् । कार्यक्रमको सञ्चालन जनप्रिय साहित्य समाजका सदस्य योगराज पौडेलले गरेका थिए ।
Photo:
