एसपिए कप क्रिकेटको उपाधी न्यू होराइजनलाई

Share:

धनगढी,माघ २४  / देशकै सर्वाधिक धनराशीको द होटेल डिभोटी एसपिए कप क्रिकेट प्रतियोगिताको उपाधि बुटवलको न्यू होराइजन कलेजले हात पारेको छ।

धनगढीमा शनिबार सम्पन्न फाइनलमा भैरहवाको सनसाइन कलेजलाई ७ रनले पराजित गर्दै न्यू होराइजनले उपाधि हात पारेको हो। विजेता र उपविजेता बन्ने दुवै टीम रुपन्देहीका हुन्।

टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले दिएको लक्ष्य सनसाइनले पूरा गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनु परेको थियो। न्यू होराइजनले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो। 
न्यू होराइजनका लागि सोमपाल कामीले ४०, सन्दिप सुनारले ३४, निर्मल थापाले २६ र सुभाष खकुरेलले २३ रन बनाएका थिए। सनसाइनका दिपेन्द्र यावदले २ र मानबहादुर थापा, सबन अली र सुवोध श्रीवास्तवले समान १/१ विकेट लिएका थिए।
१ सय ७२ रनको लक्ष्य सहित उपाधिका लागि मैदान प्रवेश गरेको सनसाइनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रन मात्रै बनाउन सकेको थियो। सनसाइनका लागि सुबोध श्रीवास्तवले ४६, मयान्क यादवले ४४, अन्तिम थापाले ३७ र मानबहादुर थापाले २१ रन जोडेका थिए।

सनसाइनलाई उपाधी चुम्न नदिन न्यू होराइजनका सौरभ खनाल र शक्ति गौचनले समान ३/३ र सोमपाल कामी र सुसान भारीले समान १/१ विकेट लिएका थिए। म्यान अफ म्याच न्यू होराइजनका सौरभ खनाल भएका छन्।

प्रतियोगिताको उपाधि विजेता बन्दै न्यू होराइजनले ५ लाख र उपविजेता सनसाइनले २ लाख रुपैयाँ र ट्रफी हात पारेको छ।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकाडेमीले आयोजना गरेको प्रतियोगिताको यो चौथो संस्करण हो। यसअघि २ पटकको उपाधि पेन्टागन र १ पटक नासा कलेजले जितेका थिए। साविक विजेता पेन्टागन भने यस पटक सेमिफाइनलमै पराजित भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: