
पोखरा । पोखरामा आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा–३२ महकुना निवासी ५८ वर्षीय जुमबहादुर कामीको हत्या आरोपमा उनकै छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।
फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको भोलिपल्ट बिहान घरको भर्याङमा लडी जुमबहादुरको मृत्यु भएको सूचना परिवारले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली खटिई घटनास्थल पुगेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको काठको चारपाटे ढोकामा लगाउने आग्लो बरामद गरेको छ ।
पक्राउ परेका रामकृष्ण विरुद्ध कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
