
पोखरा । नेपालमा उत्पादन भएका जनशक्तिको कारणले नै संयुक्त रास्ट्रसंघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको पोखरा महानगरपालिकाका नगरप्रमुख मान बहादुर जि.सीले बताए ।
सोमबार पोखरा महानगरपालिका शिक्षा महाशाखा एवं रोज फाउन्डेसनको सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकज्युहरूको भुमिका सम्बन्धि एक दिने अन्तरकृया साथै निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा यस्तो बताएका हुन् ।
नेपाल सरकारको चालु आव २०७६/०७७ को निति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने अनुरूप अनुदानको रकम पनि हस्तान्तरण भैसकेको उनले बताए ।
महानगरप्रमुख जिसीले अनुदान स्वरूप प्राप्त रकमलाई व्यवस्थित गरि प्रविधिमा जोडिनुपर्ने बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित बिषयमा रोज फाउन्डेसनले सहजिकरण गरेको प्रति धन्यवाद ज्ञापन गरे ।
महानगरद्वारा शिक्षाको क्षेत्र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्व रहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले किशोरीहरूको संवेदनशिल बिषयप्रति रोज फाउन्डेसनले सक्रियका साथ लागि परेको बताइन् । उनले सामाजिक उत्तरदायित्वका निम्ति महानगरसँग सहकार्य गर्दै फाउन्डेसनले विद्यालयका किशोरीहरूलाई दिइएको शिक्षा महत्वपूर्ण रहेको बताइन् ।
उक्त कार्यक्रममा रोज फाउन्डेसनका अध्यक्ष माधव भण्डारीले महिनावारी र सेनिटरी प्याडसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिएका थिए ।
सोही कार्यक्रममा पोखरा भित्र रहेका पाँच वटा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख जि.सीको हातबाट निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण गरिएको थियो । जसमा भवानी कालिका मा.वि, विध्ववासिनी मा वि, शिवशक्ति मा वि, महेन्द्र मा वि र रत्न पाण्डे मा वि रहेका छन् । अन्य विद्यालयहरूलाई पनि सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ ।
कार्यक्रममा रोज फाउन्डेसनका निर्देशक तथा शिक्षा विभाग प्रमुख विश्वराज पंगेनी, पोखरा महानगरपालिका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा, रोज बहिनी महिला सृजनशिल समाजको केन्द्रीय उपाध्यक्ष देबिका कार्की, रोज फाउन्डेसनको गण्डकी प्रदेशका जिल्ला संयोजक एवं पोखरामा रहेका सामुदायिक विद्यालयका प्राध्यापक शिक्षक–शिक्षिकाहरूको उपस्थिती रहेको थियो ।
रोज बहिनी महिला सृजनशिल समाज कास्कीका संयोजक लक्ष्मी कार्कीको अध्यक्षता सम्पन्न सो कार्यक्रमको संचालक रोज फाउन्डेसनका केन्द्रीय संयोजक अप्सरा खनालले गरेकी थिइन् ।

