
पोखरा । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी, वकिल र अदालतसँग सेटिङ राम्रो छ, एक करोड रुपैयाँ दिए मिलाई दिन्छु, नत्र १५ वर्ष जेलमा जानुपर्छ भन्दै प्रतिवादीबाट १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पोखरा–१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–१ घर भई हाल पोखरा–२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरीले यही फागुन १९ गते बुधबार साँझ ५ बजे पक्राउ गरी शुक्रबार आज सार्वजनिक गरेको हो ।
प्रहरीकाअनुसार उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६÷६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
