४ सन्तानसहित आमा कर्णाली नदीमा हाम फालिन्, २ छोरीको शव भेटियो

488
0
Share:

सुर्खेत । दैलेखमा एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको दिन (हिजो) सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये हिजो बेलुकी नै दुईजना छोरीको शव अछाममा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार हात बाँधिएको अवस्थामा १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।

स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको जनाएको छ ।

प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: