विनोद चौधरी यसपटक पनि विश्व धनाढ्य सूचीमा, कति बढ्यो सम्पती ?

Share:

काठमाडौं २८ माघ । उद्योगपति विनोद चौधरी यसपटक पनि विश्व धनाढ्य सूचीमा पर्न सफल भएका छन्। उनको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २० करोड अमेरिकी डलर (करिब बीस अर्ब रुपैयाँ) ले बढेको छ। विश्वका अर्बपतिको सूची सार्वजनिक गर्ने प्रसिद्ध फोब्र्स म्यागेजिनका अनुसार चौधरीको सम्पत्ति सन् २०१४ मा एक अर्ब ३० करोड डलर पुगेको हो।

नेपालबाट अर्बपतिको सूचीमा पर्ने विनोद चौधरी एकमात्र उद्योगपति हुन्। सन् २०१३ मा चौधरीको सम्पत्ति एक अर्ब १० करोड डलरमात्र थियो। फोब्र्सले अमेरिकी डलरमा कम्तीमा एक अर्ब सम्पत्ति हुनेलाई यो सूचीमा समावेश गर्दै आएको छ। फोब्र्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार विनोद चौधरी विश्व अर्बपतिको सूचीमा १३ सय ६ स्थानमा छन्। गत वर्ष उनी १४ सय ६५औं स्थानमा थिए। यस हिसाबले चौधरीको विश्व अर्बपतिको स्थानमा पनि सुधार भएको छ।

५९ वर्षीय चौधरीले नेपालमा सीजी ग्रुपमार्फत व्यवसाय सञ्चालन गरेका छन्। सीजीको वाइवाइ लोकप्रिय ब्रान्ड भएको छ। वाइवाइ विश्वका थुप्रै मुलुकमा निर्यात पनि हुन्छ। यसैगरी, बैंक, होटेल, हाइड्रोपावर, सिमेन्ट, विद्युतीय सामग्रीमा उनको लगानी रहेको छ। फोब्र्सले विदेशी साझेदार कम्पनीमा गरिएको लगानीले चौधरीलाई विश्व धनाढ्य सूचीमा पार्न सकेको उल्लेख गरेको छ। चौधरीले सिन्नोभेसन-सीजी ग्रुपमार्फत विभिन्न मुलुकमा लगानी गर्दै आएका छन्।

फोब्र्सको अनलाइन संस्करणका अनुसार चौधरीको नबिल बैंकमा बहुमत सेयर रहेको छ भने वाइवाइ विश्वव्यापी ब्रान्ड बन्ने तयारीमा छ। यसैगरी, चौधरीको एसिया तथा अफ्रिकी मुलुकमा होटेलमा लगानी छ। हालैमात्र युगान्डा, रुवान्डा तथा ब्रुनाईमा संयुक्त लगानीमा होटेल व्यवसायमा सञ्चालन गरेका छन्। सीजी ग्रुपले आफ्नो लगानी विस्तार र थप विविधीकरण गर्दै लगेको फोब्र्सले लेखेको छ। पछिल्लो समय टेलिकम क्षेत्रमा समेत उनले हात हालेका छन्। पुख्र्यौली कपडाको कारोबारबाट चार दशकअघि व्यापारमा प्रवेश गरेका चौधरीले अहिले आफ्नो व्यवसाय विश्वका धेरै मुलुकमा विस्तार गरिसकेका छन्। उनलाई तीन छोराहरू निर्वाण, राहुल र वरुणले व्यवसायमा साथ दिँदै आएका फोब्र्सले अनलाइन संस्करणमा उल्लेख गरेको छ।

बिल गेट्स विश्वकै धनाढ्य

फोब्सले माइक्रोसफ्टका मालिक बिल गेट्सलाई विश्वकै सबैभन्दा धनाढ्य सूचीको पहिलो नम्बरमा राखेको छ। सन् २०१४ मा उनको सम्पत्ति ७८ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। अघिल्लो वर्षको तुलनामा उनको सम्पत्ति १३ करोड २० लाख डलरले वृद्धि भएको हो। गत वर्ष पनि उनी विश्व धनाढ्य सूचीमा पहिलो स्थानमै थिए।
सेयर बजारका बादशाहका रूपमा ख्याति कमाएका वारेन बफेट अर्बपतिको सूचीमा दोस्रो नम्बरमा परेका छन्। उनको सम्पत्ति २०१३ मा भन्दा केही घटे पनि उनले दोस्रो स्थान भने सुरक्षित राख्न सफल भएका छन्। विश्व अर्बपतिको तेस्रो स्थानमा मेक्सिकोका टेलिकम उद्यमी कार्लोस हेलु स्मिल परेका छन्। उनको सम्पत्ति ७० अर्ब ९० करोड अमेरिकी डलर छ।

अर्बपतिमा अमेरिकाको वर्चस्व

फोब्र्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार अर्बपतिमा अमेरिकीको वर्चस्व देखिएको छ। सबैभन्दा धेरै धनी हुने १० जनामा अमेरिकाबाट मात्र सातजना परेका छन्।
तेस्रो नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु, चौथोमा स्पेनका अमानसियो ओर्टेगा र १०औं नम्बरमा फ्रान्सका लिलियन बेनकोर्टबाहेक बाँकी सातैजना अर्बपति अमेरिकी नागरिक रहेका छन्। फोब्र्सले विश्वका १५ सय ४२ जना अर्बपतिको नाम सार्वजनिक गरेको छ। अन्न्पूर्णपोष्टबाट

कमेन्ट गर्नुहोस्
Share: