कोरोनाको असर पुष्प व्यवसायमा

Share:

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्प व्यवसायमा पनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको शनिवार पोखराको वेगनासमा आयोजित ११ औं वार्षिक साधारण सभाको अवसरमा बोल्ने व्यवसायीहरुले सो कुरा बताएका हुन् ।

गत चैत्र ११ गतेदेखि गरिएको लकडाउनले फूल व्यवसायीको रोजीरोटी ठप्प भएको उनीहरुले बताए । उनीहरुले कोरोना कहरका कारण व्यवसायीहरुका व्यक्तिगत र संस्थागत कार्यक्रममा पनि असर परेको बताए । कोरोना कहरमा व्यवसाय भन्दा ज्यान नै ठूलो भन्ने आशय व्यवसायीले बुझेको उनीहरुले बताए । अब कोरोनाको महामारी घट्दै गएको र बजार पनि सहज भएकोले संस्थागत गतिविधि बढ्दै जाने उनीहरुले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले कोरोनाको कहरले कसैलाई नछोडेको बताए । उनले अब कोरोना प्रति सचेत हुँदै आफ्नो दैनिकीलाई सुचारु गर्नुको विकल्पन भएको जिकिर गरे । नेपालमा पूष्प व्यवसायको भविश्य राम्रो रहेको वताउँदै उनले यसले व्यवसायीको आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्ने समेत टिप्पणी गरे ।

फ्यान कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्धाले पुष्प व्यवसायीहरुका समस्या सरकारले सम्वोधन गर्नु पर्ने बताए । लगानी सँगै रोजगार सिर्जना गरेका व्यवसायीलाई सरकारको प्रोत्साहन आवस्यक भएको उनको भनाई छ । पोखरामा फूलको कारोवारको यकिन तथ्याङक नभए पनि करोडौंको कारोबार हुने गरेको उनले जानकारी दिए ।

फ्यान कास्कीका अध्यक्ष सीता माया रानाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मोहन प्रसाद शिवाकोटी, उपाध्यक्ष दिलवहादुर गुरुङले बोलेका थिए । सो अवसरमा सचिव श्रीराम सुवेदीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष गोविन्द सापकोटाले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

साधारण सभाले निकट भविश्यमा पोखरामा पुष्प मेला गर्ने, व्यवसायीलाई तालिम दिने, र व्यवसायिक अध्ययन अवलोकन भ्रमण गर्ने निर्णय समेत पारित गरेको छ ।

पोखरामा करिव ४० जना व्यवसायीहरुले फूल खेती गर्दै आएका छन् । यो खेतीवाट थुप्रैले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी भएको फ्यान कास्कीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: