
धन बस्नेत , पोखरा २९ माघ । पोखराको पवित्र धार्मिकस्थल विन्ध्यवासिनी मन्दिर मर्मत सम्भारको लागि सरकारले छुट्टाएको रकम पुरातत्व विभागले ‘हाईज्याक’ गरेको छ । सरकारले ६० लाख रुपियाँ छुट्टाएको थियो ।
छुट्टाएको रकमलाई पुरातत्व विभागले केही महिना अघिमात्रै जलेको पुरानो माल अड्डा पुर्ननिर्माणको लागि हाईज्याक गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।‘पोखराको पवित्र धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर पुर्वतर्फ ढल्किएको छ । मन्दिर ढल्किएको विषयमा पुरातत्व विभागलाई पत्रचार गरियो । सरकारसित मन्दिरको प्रदक्षिणापथ निर्माणको लागि एक करोड २५ लाख बजेट माग ग¥यौं ।‘ उनले भने—‘ मागिएको बजेटमा ६० लाख विनियोजन भएको छ । तर विनियोजित रकम पुरानो माल अड्डा मर्मत गर्न पुरातत्व विभागले चासो देखाँउदै रकम हाईज्याक गरिदिएको छ ।’
पुरातत्व विभागलाई मन्दिर ढल्किएको विषयमा जानकारी समेत दिईसकिएको छ । जानकारी दिएपनि विभागले खासै चासो भने देखाएको छैन् । ‘ मर्मत सम्भार नगर्ने हो भने अबको १५/२० वर्षपनि मन्दिर टिक्ने अवस्था छैन् ।’ पुरातत्व विभागले माल अड्डा मर्मत सम्भारको लागि टेण्डर समेत आह्वान गरेको उनको भनाई छ । ‘टेण्डर समेत आह्वान गरेका छन् । तर हामीले समितिसितको छलफल विना कुनैपनि टेण्डर नगर्न आग्रह गर्दै आएका छौं ।’ उनले भने—‘पुरानो माल अड्डाभन्दा पनि पवित्र धार्मिकस्थल संरक्षण गर्नुपर्ने खाँचो छ ।’
२०२३ सालमा विन्ध्यवासिनी मन्दिरको डबली बनाइएको हो । जनघनत्व बढेको छ । मन्दिर दर्शन र पुजा गर्ने धार्मिक पर्यटकदेखि सर्वसाधारणको उपस्थिति बाक्लिदैं गएको छ । २० हजार जनसंख्या हुदाँ बनाईएको डबली अहिले तीनलाख जनसंख्या भईसकेको छ । पर्यटकको चापसँगै मन्दिरले थेक्न सक्ने अवस्था नहुदाँ मन्दिर पुर्वतर्फ ढल्किएको हो । ‘मन्दिर संरक्षणको लागि प्रदक्षिणा पथ निर्माण गर्नुपर्ने खाँचो छ ।’ उनले भने—‘तर सिमेन्ट प्रयोग गर्न पाईन्न भन्दै अडकाउने काम पुरातत्व विभागले गरेको छ ।’
रसायनयुक्त अविरको प्रयोग मन्दिरभित्रको प्रतिमा क्षयीकरण भएको छ । आधारभूमि पनि छियाछिया भईसकेको छ । घण्ट भएको डबली पनि छियाछिया भईसकेको छ । मुसाले जमिन खोतलेको छ । प्रदक्षिणा पथ बनाउनुपर्छ । ‘मन्दिरमा दर्शन गर्ने परम्परा बसाल्नुपर्छ ।’ उनको भनाई थियो—‘त्यसले मन्दिरलाई लोड पर्दैन् ।’ मन्दिरको बर्तमान अवस्थासँगै प्रदशिक्षणा पथ निर्माणको लागि मुख्य सचिव लिलामणि पौडेललाई समेत जानकारी गराईएको समितिले जनाएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षणको लागि दीर्घकालिन योजना समेत बनाएको छ । मन्दिर पुग्ने सिढी फराकिलो बनाउनुपर्ने उद्देश्य लिएको छ । तत्कालिन समयको जनसंख्यालाई आधार मानी बनाईएको सिढी अहिले सर्वसाधारणको चापले साँघुरो बनेको छ । ‘सिढी फराकिलो बनाउनुपर्ने अवस्था छ ।’ उनले भने—‘मन्दिरको मर्मत सम्भार र सिढीको काम गर्न पुरातत्व विभागले स्वीकृति दिए समितिले काम थाल्ने छ ।’ उनका अनुसार मन्दिर परिसरमा पोखराको व्यवसायिक केन्द्र भाटभटेनीले लिफ्ट हाल्नको लागि २१ लाख रुपियाँ दिएको छ । तर लोडसेडिङ, जेनेरेटरको प्रयोगले बातावरणीय र ध्वनि प्रदुषणको समस्या देखिएपछि त्यसलाई थाँती राखिएको छ ।
मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न साढे ३१ फिटको त्रिशुल राखिएको छ । जमिनको सतहभन्दा माथि २६ फिटको हुने छ । पाँचफिट जमिनमुनी गडिएको छ । त्रिशुल बनाउन एकसय १० केजी तामाको प्रयोग गरिएको छ भने अड्याउन जिआई पाईप प्रयोग गरिएको छ ।
स्थापित त्रिशुललाई महाशिवरात्रीको अवसर पारेर अनावरण गरिने छ । झण्डै साढे तीन लाख रुपियाँ लागतमा ललितपुरका कालिगढ केदार ताम्राकारले तयार पारेका हुन् । ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकको रुपमा लिईने त्रिशुलले पर्यटनको लागि थप आकर्षण हुने विश्वास समितिले लिएको छ । नेपालकै अग्लो मध्येको यो त्रिशुलको लागत भने विन्ध्यवासिनी आमा समूहले व्यहोर्न समितिले जनाएको छ ।
