
दाङ । दाङमा आज मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा भएको हो ।
उक्त दुर्घटनामा तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको हो । उनीहरु कक्षा ११ मा पढ्ने विद्यार्थी भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।
