
काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मस्तिष्कघात भई काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको हो ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।
मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।
अस्पतालका अनुसार जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो ।
नेता जोशीको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म उनकै निवास वसन्तपुरको याट्खा टोलमा राखिने भएको छ । त्यसपछि १२ बजेदेखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने जनाइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । नेता जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेका लागि बोलाएको हो ।
