
पोखरा । एएफसी कप– २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीस स्पोर्ट क्लबबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रङ्गशालामा चैत २५ गते साँझ ५ः३० बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यस्तै, कोरोना महामारीका कारण उक्त खेलमा रंगशालाको क्षमता भन्दा आधा दर्शकलाई मात्र दशरथ रंगशालामा प्रवेश दिईने भएको पनि एन्फाले जनाएको छ ।
उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ ।
सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाले जनाएको छ ।
