
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीद्धारा आयोजित ४२ औं शिक्षक दिवस तथा संङगठनको १३ औं जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
शिक्षकहरुले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रुपमा आफुलाई स्थापित गर्नुपर्ने आवश्यकता औल्याए ।
“पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको संकेत देखिएकको छ” उहाँले भन्नुभयो, “सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनु पर्दछ ।”
मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार कटिवद्ध भएर अघि बढेको जानकारी दिए ।
नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज समेत रहनु भएका मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति होइन विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतिका लागि बाम बुद्धिजीवी संगठीत भएर लाग्नु पर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावना अनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनु पर्नेमा जोड दिंदै महानगरपालिका भित्र रहेका शिक्षकको तलबमा मात्र बार्षिक एक अर्व २५ करोड खर्च हुने गरेको जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संङगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलका अनुसार संगठनले शिक्षक वर्गको हक अधिकारको सुनिश्चित गर्दै रक्तदान, बक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठक जस्ता कार्य गर्दै आएको जानकारी दिंदै दरबन्दी मिलान, स्थानीय महासंघ गठन, बेजिल्ला सरुवा चुनौतिपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा संगठनको मुखपत्र शिक्षक आवाज भाग ४ को विमोचन, विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै संगठनको विकासमा उल्लेखनीय योगदान पु¥याउनु हुने महानुभाव, अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।
सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थीद्धारा नृत्य प्रस्तुत गरिएको थियो ।
