पोखरा औद्योगिक क्षेत्रमा दुई ठूला उद्योग थपिए

Share:

फागुन ४, पोखरा । पोखरा औद्योगिक क्षेत्रमा २ वटा ठूला उद्योग थप भएका छन् । चालु आर्थिक वर्ष भित्रैमा ५ वटा उद्योग थपिने तयारीमा छन् । न्यू लिंक कपि उद्योग र काली गण्डकी अक्सिजन ग्यास उद्योग थपिएका हुन् । थपिएका दुई उद्योगमा गरी २१ करोड रुपैयाँ लगानी भएको छ ।

त्यसैगरी अलक्रिट प्रोडक्सन, एशियन फिड इण्डष्ट्रिज, नकर्मी इलेक्ट्रिकल्स ट्रान्सफर्मर, विन्देश्वरी फुड्स, विजय इन्जिनियरिङ एण्ड इलेक्ट्रिक वर्कसप उद्योग सञ्चालनमा आउने तयारीमा रहेको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय पोखराका प्रवन्धक नेपालभूषण वैद्यले जानकारी दिए । ‘थपिने तयारीमा रहेका उद्योगहरु निर्माण भइरहेको छ,’ वैद्यले भने, ‘चालु आर्थिक वर्षभित्रैमा उद्योेगहरु सञ्चालनमा आउनेछन् ।’

सञ्चालनमा आएको न्यू लिंक कपि उद्योगमा १५ करोड रुपैयाँ लगानी भएको छ । साउनदेखि सञ्चालनमा आएको उद्योगले विभिन्न प्रकारका कपि तथा नोट बुकहरु उत्पादन गरिरहेको अध्यक्ष देव अर्यालले जानकारी दिए । उद्योगबाट उत्पादन भएका कपिहरु गण्डकी, धौलागिरि र बागमती अञ्चलका प्राय सबै जिल्लामा पुगिरहेका अर्यालले जानकारी दिए । ‘मध्य पश्चिमाञ्चल र सुधुर पश्चिमाञ्चलमा पनि पुगिरहेको छ,’ उनले भने । उद्योगले ‘न्यू लिंक’ र ‘स्कोलर’ ब्राण्डका कपिहरु उत्पादन गरिरहेको छ । ‘उद्योगले दैनिक १० टन कपि उत्पादन गरिरहेको छ,’ उनले भने ।

त्यसैगरी, गत पुसदेखि औद्योगिक क्षेत्रमा काली गण्डकी अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ । ६ करोड लगानीमा सञ्चालनमा आएको उद्योगले अक्सिजन, नाइटोजन र लिक्युट नाइटोजन ग्यास उत्पादन गरिरहेको कार्यकारी निर्देशक माधव बस्ताकोटीले जानकारी दिए । १२ जनाको लगानी रहेको उद्योगमा १४ जना कर्मचारी कार्यरत छन् । उद्योगबाट उत्पादित ग्यास गण्डकी तथा धौलागिरि अञ्चलमा पुगिरहेको बस्ताकोटीले जानकारी दिए । उनले भने, ‘उद्योगबाट दैनिक ५ सय सिलिण्डर ग्यास उत्पादन भइरहेको छ ।’ उद्योगमा लगानी बिस्तार हुने क्रम जारी रहेको बस्ताकोटीले बताए ।

अहिले पोखरा औद्योगिक क्षेत्रमा ७० ओटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्रमा १ हजार ६ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । औद्योगिक क्षेत्रमा १५ ओटा इन्जिनियरिङ, मेशिनरी, फेबिकेटिङ उद्योग छन् । दुध तथा दुध जन्य पदार्थ उत्पादन गर्ने उद्योग ६ ओटा, बिस्कुट तथा पाउरोटी र कपडा उद्योग ५÷५ ओटा सञ्चालनमा छन् । ३ ओटा चाउचाउ उद्योग रहेको औद्योगिक क्षेत्रमा ५ ओटा भाँडाकुँडा उत्पादन गर्ने उद्योग छन् । निर्माण सामग्री उत्पादन गर्ने उद्योग ५, विद्युतीय सामग्री उत्पादन गर्ने ४ र काष्ठकला तथा फर्निचर उद्योग ६ ओटा छन् ।

त्यस्तै, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ उत्पादन गर्ने उद्योग ५ उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा पानी उत्पादन गर्ने उद्योग ३ ओटा छन् । २ उद्योगले खाद्य मसला उत्पादन गरिरहेको औद्योगिक क्षेत्रमा अन्य ६ उद्योगहरु सञ्चालनमा छन् । २०३१ साल असोज १६ गते स्थापना भएको औद्योगिक क्षेत्र ५ सय १ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सुरेन्द्र पौडेल / Arthik Aviyan

कमेन्ट गर्नुहोस्
Share: