प्रदेश २ को नाम मधेस तथा राजधानी जनकपुरधाम राख्न भन्दै जसपा र माओवादीले दर्ता गराए प्रस्ताव

Share:

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न आज आइतबार २ वटा प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गते ३ बजेसम्म प्रस्ताव दर्ताका लागि आह्वान गरेपछि आज २ वटा प्रस्ताव दर्ता भएको हो ।

आइतबार सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्रले दुई वटा प्रस्ताव दर्ता गराएको हो । दुवै दलले छुट्टाछुट्टै रुपमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरु रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन जनाएका छन् ।

माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेस नामाकरण हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन गरेका छन् ।

राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै जसपाका सांसद परमेश्वर साहले दर्ता गराएको प्रस्तावमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन् भने माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साह समर्थक छन् ।

प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्न कुल सांसद संख्याको दुई तिहाइ आवश्यक पर्दछ । प्रदेश २ मा १०७ जना सांसद रहेकोमा ४ जनालाई माओवादी केन्द्रले बर्खास्त गरेपछि अहिले प्रदेशमा १०३ जना सांसद छन् । यसको दुई तिहाइ ६९ जनाले समर्थन गरेमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिन सक्छ ।

कमेन्ट गर्नुहोस्
Share: