भारतले युद्धकजहाज निर्माणमा आठ अर्ब अमेरिकी डलर खर्च गर्ने

247
0
Share:

नयाँ दिल्ली, फागुन ७ / भारतले स्थानीय उत्पादन वृद्धि र चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने उद्देश्यले सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको छ।

चीनको आधुनिक नौसैनिक युद्धक प्रणालीसँग भारतको वर्तमान क्षमता हाल कमजोर भएको अवस्थामा छ। यो कमजोरी हटाउने र भारतमै प्रतिरक्षा उपकरण उत्पादन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा यस योजनालाई एक पाइलाको रूपमा लिइएको छ ।

भारत हाल आफ्नो पुरानो सैनिक ‘हार्डवेयर’ प्रतिस्थापन गर्न अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने अवस्थामा छ । हालै उसले प्रतिरक्षाको क्षेत्रमा विदेशी लगानीको सीमालाई हटाएको थियो। मन्त्रिपरिषद्को सुरक्षासम्बन्धी समितिले स्थानीय बन्दरगाहमा राडरबाट पत्ता लगाउन नसकिने सातवटा युद्धकजहाज निर्माण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको प्रतिरक्षा मन्त्रालयका एक अधिकारीले जनाए ।

चारवटा युद्धक जहाज मुम्बईस्थित माजागन बन्दरगाहमा निर्माण गरिनेछ भने कोलकाताको गार्डेन रिच सिपबिल्डर्स एन्ड इन्जिनियर्समा बाँकी तीन जहाज निर्माण हुनेछ । यी युद्धक जहाजमा राडरले पत्ता लगाउन नसकिने बनाउने प्रविधि रहने छ । टाइम्स अफ इन्डियाले यसै साताको सुरुमा उक्त समितिले आठ अर्ब अमेरिकी डलर बराबरको पारमाणविक ऊर्जायुक्त ६ वटा पनडुब्बी निर्माण गर्ने योजनालाई पनि स्वीकृति प्रदान गरेको उल्लेख गरेको थियो।

मे महिनामा अत्यधिक मतले विजय हासिल गरेपछि मोदीको दक्षिणपन्थी सरकारले मुलुकको सोभियतकालको सैनिक सामग्रीलाई प्रतिस्थापन गर्ने अनेकौँ प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री मोदी शासनमा आउनुभएपछि उनले भारतको क्षेत्रीय गठबन्धन पनि बलियो बएका थिए। भारतको दुर्गम हिमाली क्षेत्रमा चीनसँग क्षेत्रीय विवाद छ।

चीनले हिन्द महासागरमा आफ्नो आर्थिक अभिरुचि सुरक्षित बनाउन अनेकौँ आधारभूत संरचना विकास गर्न प्रयास गरिरहेको आरोप लगाउने गरिन्छ। गत वर्ष श्रीलंकाको जलक्षेत्रमा चिनियाँ दुई पनडुब्बी देखा परेपछि नयाँ दिल्लीमा चासो बढेको थियो । भारतले श्रीलंकालाई आफ्नो परम्परागत प्रभावक्षेत्रको रूपमा हेर्दै आएको छ। राससरएएफपी

कमेन्ट गर्नुहोस्
Share: